देउवाले बोलाएको बैठक किन गरे सिटौलाले बहिस्कार ?

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५

काठमाडौँ/ तोकिएको मितिमा केन्द्रीय समिति बैठक बस्न नसकेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले सहमति खोज्न आफ्नै निवासमा नेताहरुलाई बोलाएर मनाउने प्रयास गरेका छन् ।

सभापति देउवाले सोमबार नेताहरुलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले अस्वीकार गरेका छन् ।

काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा सहमति जुट्न नसकेपछि शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।

देउवा निवासमा केही बेरअघि सुरु भएको काँग्रेसका शीर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री डा। शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ र बलबाहादुर केसी सहभागी छन् ।

सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति, संसदीय बोर्ड र केन्द्रीय विभागका संयोजक तोक्ने विषयका साथै पार्टीले सरकारविरुद्ध देशव्यापी चलाउने भनिएको जनजागरण अभियानबारे छलफल गर्न भन्दै आफ्नै निवासमा बैठक बोलाएका हुन् ।

यसअघि पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको सङ्ख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेपनि तत्काल निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानका आधारमा पदाधिकारीसहित २९ सदस्यीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा समितिमा रहने सदस्यहरु देउवा र पौडेलका ६० र ४० का आधारमा राख्न दुई नता सहमत भएका थिए । तर, सो समितिमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट पनि सदस्य राख्नुपर्ने भन्दै आपत्ति जनाएका थिए । सिटौलाको आपत्तिपछि गत शनिबारको केन्द्रीय समिति बैठक नै स्थगित गर्नुपरेको काँग्रेस नेताहरुले बताएका छन् । रातोपाटीको समाचार