ओखलढुंगा कटुञ्जे सरोकार समाजद्वारा वृहद रक्तदान कार्यक्रम सम्पन्न

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५

ओखलढुंगा कटुञ्जे सरोकार समाजले मोलुङ फाउण्डेसन काठमाडौं तथा मोलुङ बहुउद्देश्यीय सहकारी संस्थासँगको आपसी समझदारीमा र श्री बरुणेश्वर मावि पूर्व विद्यार्थी समाज तथा बेलीचमेली खतिवडा समाजको सहयोगमा मिति २०७५ चैत्र २३ गते शनिबारका दिन विहान १० बजेदेखि २ बजेसम्म संस्थाको कार्यालय कोटेश्वरमा वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार उद्योग मन्त्रालयकी सचिव श्री यामकुमारी खतिवडाको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा मोलुङ फाउण्डेसनका अध्यक्ष खेमप्रसाद दाहाल ओखलढुंगा कटुञ्जे सरोकार समाजका अध्यक्ष पेशलकुमार पराजुली तथा मोलुङ साकोसका अध्यक्ष चेतनाथ घिमरेको प्रत्यक्ष उपस्थिति रहेको थियो ।

प्रतिकूल मौसमका बाबजुद पनि करीब ५० जनाको रगत संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष पेशलकुमार पारजुलीले बताए भने उपस्थित मध्य धेरैको स्वास्थ्यमा समस्याका कारण रगत दान गर्न पाएनन् ।

कार्यक्रमका प्रमुख अतिथि श्री यामकुमारी खतिवडाले यस खालका स्वास्थ्य सम्बन्धी कार्यक्रम राख्नु अत्यन्तै राम्रो कुरा भएको जानकारी दिँदै आगामी दिनमा पनि नेपाल सरकारले तथा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल कुमार लुइटेल नेकपाकी नेत्री चम्पादेवी कार्की प्रा डा भूप प्रसाद धमला नेपाल सरकारका पूर्व सहसचिव गंगाप्रसाद लुइटेल एन प्याव्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिद्वारा रक्तदान गर्ने महानुभावलाई प्रशंसा पत्र प्रदान गरी कार्यक्रमको समापन गरिएको थियो ।