क्याफे सञ्चालक अवैध विदेशी मुद्रासहित पक्राउ

प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५

काठमाडौं /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठको परिवार अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन्। शुक्रबार दिउँसो पौन २ बजे थाइ एयरको फ्लाइटमार्फत काठमाडौंबाट श्रेष्ठको परिवारका ५ जना बैंकक जान लागेको अवस्थामा प्रहरीले अवैध डलरसहित उनीहरुलाई पक्राउ गरेको हो।

ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित विमानस्थल प्रहरीले उनको परिवारलाई पक्राउ गरेको हो। ४६ वर्षीया उमादेवी श्रीमती, १७ र ४ वर्षका दुई छोरी र ११ वर्षीय छोरासहित बैंकक उड्न लागेका बेला अवैध विदेशी मुद्राहरूसहित ४८ वर्षीय सुवास श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

श्रेष्ठको साथबाट चिनियाँ युआन (१३ लाख २० हजार रूपैयाँ), अमेरिकी डलर १० हजार (११ लाख ९२ हजार रूपैयाँ), थाई भाट २२ हजार १५० (७७ हजार ३१ रूपैयाँ) र युरो १ हजार ३८० (१ लाख ७१ हजार रूपैयाँ) बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ।