यातायात समिति कम्पनीमा जानेबारे महासङ्घको वृहद छलफल

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

काठमाडौँ/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात समिति कम्पनीमा जाने विषयमा कानुनविद् र यातायातका जिल्ला तथा प्रदेश समितिसँग छलफल शुरु गरेको छ ।

सरकारले यातायात समितिलाई कम्पनीमा जान निर्देशन गरेसँगै उक्त निर्देशनको स्वागत गर्दै विभिन्न समिति, जिल्ला तथा प्रदेश समिति र कानून व्यवसायीसँग छलफल शुरु गरेको हो ।

छलफलमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीसँग भएको चल-अचल सम्पत्ती, कर्मचारी व्यवस्थापन र बस रुपान्तरणसम्बन्धी सरकारसँग गम्भीर छलफल भइरहेको बताउनुभयो ।

“सङ्घ संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका यातायातलाई रुपान्तरण गर्न महासङ्घले काम गरिरहेको छ,”–उहाँले भन्नुभयो । निर्देशिका र नियमावली नवनी यातायात क्षेत्रमा देखिएको अन्योलता हट्न नसक्ने उहाँको भनाई छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दिपक अधिकारी, हरिशरण केसीले महासङ्घको सम्पूर्ण कार्यसमिति देशभरको यातायात व्यवसायीको हक, हितका लागि लडेको बताउँदै आफुहरुलाई साथ र सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

वरिष्ठ अधिवक्ता तुलसी भट्टले कम्पनीमा जानेसम्बन्धि विद्येयक सरकारले पास गरिसकेको बताउँदै कम्पनीमा जान परेका अफ्ठयारा सरकारसँग बसेर छलफल गरी टुङ्याउन महासङ्घ लाग्नुपर्ने बताउनुभयो ।

अधिवक्ता मुकुन्द न्यौपाने, विकास मल्ल, नन्दलाल शर्मालगायतले कम्पनीमा जाँदा आइपर्ने शेयरको मूल्याङ्न, सवारी साधनको मूल्याङ्नलगायतलाई व्यवसायीले आपसी बसेर टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

महासङ्घका महासचिव सरोज सिटौलाले महासङ्घ मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि लागि परेको बताउँदै छलफल अभियानलाई सबै प्रदेशमा लैजाने बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले कम्पनीमा जान गरेको आग्रहले नपढेका र आफ्नो सवारी साधन आफैले चलाउने चालक (स्वचालक) लाई अफ्ठयारो परेको बताउनुभयो ।

छलफलका सहभागीहरुले संस्था खारेजी र कम्पनी दर्ता कसरी गर्ने, सम्पत्ती र सवारी साधन कम्पनीमा कसरी रुपान्तरण गर्ने, विमाका समस्या, कम्पनीमा शेयर कसरी लिनेलगायतका जिज्ञासा राख्नुभएको थियो ।

महासङ्घका चैत १३ गते बसेको सचिवालय बैठकले महासङ्घ अन्तर्गत रहेका सबै समितिलाई २०७६ जेठ १८ गतेभित्र कम्पनीमा जान निर्देशन गरेसँगै महासङ्घले उक्त छलफल गरेको हो ।