राष्ट्रपति विद्यादेवी र प्रधानमन्त्री केपी ओलीको फोटो विगारेर सामाजिक सञ्जालमा हाल्ने गिरोह पक्राउ

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

सामाजिक सञ्जाल एक सूचनाको माध्यम हो । धेरैलाई थाहा छ हामी सूचना प्रविधिमा अगाडि बढेसँगै विकृतिहरु समेत निकै नै तीब्र गतिमा बढिरहेका छन् । हिजोआज राजनीतिक विमत्तिको आधारमा विपरित पार्टीका नेता तथा मन नपरेका व्यक्तिको तस्विरलाई अपभ्रंश पारेर सामाजिक सञ्जालमा पोष्ट गर्ने आपराधिक कृयाकलाप निकै नै बढेका छन् । यति मात्र होइन अश्लिल फोटा तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर ब्ल्याकमेल गरी फिरौति असुल गर्ने गिरोह समेत सकृय रहेका छन् ।

यी र यस्ता कृयाकलाप गर्नु सामाजिक अपराज हो । अपराध सानो होस या ठूलो जस्तो सुकै भए पनि अपराधिले मुक्ति पाउनु हुँदैन । चाहे त्यो कानुनको रखवाला होस या राजनीतिक दलको कार्यकर्ता या त सामान्य नागरिक कानुन सबैलाई बराबरी लागू हुनुपर्छ ।

केहि समयअगाडि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर फेसबुकमा पोष्ट गरिएको थियो । उक्त राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर फेसबुकमा पोष्ट गर्ने पाल्पा परान्दी गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरेलाई चैत १२ गते भक्तपुर नयाँ ठिमीबाट र रुपन्देही शंकरनगर–८ का २३ वर्षीय यमप्रसाद पन्थीलाई चैत १३ गते चितवनबाट केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।