अध्यक्ष पेशलकुमारको सक्रियतामा ओखलढुंगा कटुञ्जे सरोकार समाजद्वारा रक्तदानको आयोजना हुँदै

देवीप्रसाद खनाल, कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५

पेशलकुमार पराजुली अध्यक्ष भएयता ओखालढुंगा कटुञ्जे सरोकार समाजले विभिन्न सामाजिक कार्यमा सक्रियता बढाएको छ । यस संस्थाले केही पनि काम गर्न नसकेको, चुनाव नगरी मनोमानी आफ्ना अनुकुलका मान्छे संस्थामा भर्ती गरेको जस्ता आरोपहरु लागिरहेको बेला यस संस्थाले सामाजिक कार्यमा गति बढाएको हो ।

हुन त गएको वर्ष पनि यस संस्थाले रक्तदान कार्यक्रम आयोजना गरी करीब ७० जनाबाट रक्तदान सम्पन्न गरिएको थियो । संस्थाले स्थापनाकालदेखि नै आगलागी पीडित, बाढी पीडित, भुकम्प पीडित तथा विभिन्न प्राकृतिक प्रकोप लगायत गरीबिको रेखामुनि रहेका ओखलढुंगा कटुञ्जेमा बसोबास गर्ने मानिसहरुलाई सेवा तथा सहयोग पुर्याउँदै आएको छ ।

पराजुली अध्यक्ष भएपछि ओखलढुंगाको मोलुङखोलाको त्रिवेणीधामस्थित रहेको घाटमा मलामीलाई विश्राम गर्नको लागि प्रतिक्षालय निर्माण गर्नको लागि तदारुकताका साथ काम थालनी गरिएको छ । यसको लागि गाउँपालिका, वडा तथा विभिन्न व्यक्तित्वहरुबाट रकम संकलन गरिएको अध्यक्ष पराजुलीले बताए ।

यस्तै सामाजिक कार्य अन्तर्गत रक्तदान जीवन दान भएकोले यस संस्थाले मोलुङ फाउण्डेसन सँगको आपसी समझदारीमा यही २०७५ चैत्र २३ गते शनिबारका दिन विहान १० बजेदेखि २ बजेसम्म संस्थाको कार्यालय कोटेश्वरको महादेवस्थान (दीपिका स्कुल अगाडि)मा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा रक्तदान गर्न इच्छुक स्वस्थ व्यक्तिहरुले उपस्थित भई रक्तदान गर्नको लागि आह्वान गरिएको छ । सम्पर्कको लागि ९८४१९४५०२१