बर्तमान चरणको क्रान्तिकारी कार्यदिशा र सर्बहारा मजदूरबर्गको आगामी कार्यभार – प्रा. पद्म खड्का

प्रकाशित मिति : बुधबार, चैत्र २०, २०७५

प्रा. पदम खडका

प्रगतिशील बुद्धिजीवि संगठनका पूर्व अध्यक्ष तथा प्रोफेसर स्व. पदम खड्का समाजवादी आन्दोलनमा मजदुरवर्गको भूमिकाको विषयमा भन्नुहन्छ– अबको क्रान्तिकारी कार्य दिशा तय भैसकेको बर्तमान अबस्थामा सर्बहारा मजदूर बर्गको कार्यभार के हुने भन्ने बारेमा पनि सचेत हुनु पर्दछ । राजनैतिक आन्दोलन अब मूलतः सदन र सरकार मार्फत अभिब्यक्त हुन पुग्दछ यद्यपि प्रतिगामी पुनरुत्थानबादी तथा यथास्थीतिबादीहरुसंगको संघर्षमा सडक संघर्ष पनि त्यतिकै महत्वपूर्ण हुन्छ । सडक संघर्षमा साथ दिनुका साथसाथै अब सर्बहारा मजदूर बर्गले आर्थिक—सामाजिक— सांस्कृतिक रुपान्तरणमा बिशेष ध्यान दिन जरुरी छ । यसका लागि मजदूरहरुले अब बिभक्त भएर होईन, बरु झन एकिकृत भएर एकताभाव प्रदर्शन गर्नु पर्दछ ।

सर्बहारा बर्गका लागि गुमाउँनका लागि केही छैन र जित्नका लागि सारा संसार छ । त्यसैले यतिबेला सर्बहारा मजदूर बर्गले धेरै कुरा जितेको छ र त्यस जितको स्वामित्व लिन सक्नु पर्दछ । त्यसै गरेर निम्न लिखित कार्यभारहरुलाई केन्द्रमा राखेर अर्को बिजय यात्रामा निस्कनु जरुरी छ ।

क) राष्ट्रियता, राष्ट्रिय सुरक्षा,  जनतन्त्र तथा जनजीविकाका लागि  मजदूर आन्दोलन : स्थूल रुपमा मुलुकमा युगान्तकारी , ऐतिहासिक तथा क्रान्तिकारी परिबर्तन भए पनि अझै पनि राष्ट्रियता माथि गम्भीर खतरा कायम नै छ । भारतीय प्रभूत्वबाद झन् हावी हुँदै गएको छ । विश्व साम्राज्यबादको हस्तक्षेप झन् बृद्धि हुँदै गएको छ । राष्ट्रिय सुरक्षामा आँच आईरहेको छ । भरखरै स्थापित गणतन्त्र संस्थागत हुन सकिरहेको छैन । जन जीवन झन् कष्टकर हुँदै गएको छ । संक्रमणकालीन बिकृति, बिसंगति, अराजकता तथा कानून बिनाको राज चलिरहेको छ ।  यस अबस्थाको अन्त्यको लागि आफूलाई तयार राख्न र जुनसुकै प्रकारको संघर्ष गर्नु परे पनि आफूलाई तयार राख्नु क्रान्तिकारी मजदूर आन्दोलनको प्राथमिक कार्यभार हो । यसका लागि सम्बिधान सभा मार्फत जनमूखि, लोककल्याणकारी राज्यब्यबस्था स्थापित गर्ने संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको सम्बिधान निर्माणलाई अहिलेको कार्ययोजना भित्र पार्नु पर्दछ ।

ख) आर्थिक रुपान्तरणका लागि मजदूर आन्दोलनः नेपाल अर्धसामन्ती तथा अर्ध औपनिबेशिक देश भएकाले यस चरणको आर्थिक क्रान्तिको दिशा भनेको स्वाधिन, स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बिकास गर्नु हो । यसका लागि राष्ट्रिय पुंजीको संरक्षण, प्रबर्धन तथा बिकास गर्नु मजदूर बर्गको प्राथमिक कार्यभार हो । राष्ट्रिय पुंजीको बिकासका क्रममा मजदूरहरु स्वयं उत्पादनमा मात्र नभै बितरणमा पनि सहभागी हुनु पर्दछ । त्यसैले अहिलेको मजदूर आन्दोलन उद्योग, कलकारखाना वा उत्पादनका श्रोत साधनमा नियन्त्रण, परिचालन प्रक्रियामा सहभागी हुन पाउँने प्रावधान सिर्जना गर्ने दिशामा केन्द्रित हुनु पर्दछ । त्यसै गरेर स्वयं मजदूरबर्गले नै सहकारी आन्दोलन मार्फत उत्पादन प्रक्रियाको नियन्त्रण, नियमन तथा बितरण प्रक्रियाको नेतृत्व गर्नु पर्ने अबस्था आएको छ भने सामुदायिक जीवन प्रणाली मार्फत सामुदायिक उत्पादन प्रणालीको बिकासमा लाग्नु पर्दछ । यस प्रक्रिया अन्तरगत पुंजीपति बर्गसंग पनि सहकार्य गर्दै उनीहरुका हितको रक्षा गर्नु पनि मजदूर बर्गको कर्तब्य हुन पुगेको छ । यसरी राष्ट्रिय पुंजीको रक्षा, बिकास तथा सिर्जनामा मजदूर बर्ग लाग्नु पर्दछ ।

ग) सामाजिक रुपान्तरणका लागि मजदूर आन्दोलनः बर्तमान संक्रमणकालका लागि सामाजिक सुरक्षा सम्बन्धी बिशेष ब्यबस्था गर्नु अनिबार्य छ । आम रुपमा मुलुकमा अख्तियार गरिने नीतिले मात्र मुलुकका सदियौँदेखि बिभेदमा पारिएका बर्ग, समुदाय वा समूहको उत्थान वा मुक्ति हुन नसक्ने मात्र होईन, सामाजिक सन्तुलन समेत कायम हुन सक्दैन । त्यसैले बर्तमान अन्तरिम संक्रमणकालका लागि बिशेष बर्ग, समुदाय वा समूहका लागि बिशेष सामाजिक सुरक्षा नीति अख्तियार गर्नु पर्दछ । सामाजिक सुरक्षा बिशेष ब्यबस्था गर्नुको मूल ध्येय भनेको सदियौँदेखिको बिभेदकारी ब्यबहार तथा नीतिहरुको अन्त्य गर्नु हो । त्यसैले लिङ्ग, जात, धर्म, शारीरिक अबस्था वा भौगोलिक अबस्थितिका कारण कोही पनि नागरिकमाथिको बिभेदको अन्त्यका लागि क्रान्तिकारी मजदूर आन्दोलनको सक्रियता बढ्््रनु पर्दछ । मानवद्वारा मानवमाथि गरिने शोषणको अन्त्यका लागि बिशेष कार्यक्रम तय गरी उक्त शोषणको बिरुद्धमा आफूलाई मजदूर आन्दोलनले उभ्याउँनु पर्दछ ।

घ) साँस्कृतिक रुपान्तरका लागि मजदूर आन्दोलनः  शोषण, दमन, अन्याय, अत्याचार र असमानताका सिकार भएका नेपाली जनताले सामन्तबाद बिरुद्ध निरन्तर संघर्ष गर्दै आईरहेका भए पनि प्रत्येक आन्दोलन भित्र सामन्तबादको नशा छिरेको छ र ती नशाहरु मार्फत सामन्तीपनको रगत बगिरहेको छ । यस अबस्थामा मजदूर आन्दोलनले आफूूभित्र रहेको सामन्तीपनको पहिचान गरी त्यसलाई निषेध गर्ने अभियान संचालन गर्नु पर्दछ । मजदूर आन्दोलनमा त झन आर्थिक, सामाजिक तथा सांस्कृतिक लम्पटिकरणले पनि आश्रय पाईरहेको हुन सक्ने अबस्थामा यस आन्दोलनलाई महत्वका साथ उठाउँनु पर्दछ । यस संघर्षको प्रतिफल भनेको नव मानवको सिर्जना हो । यतिबेला मुलुकमा नयाँ अन्तर्बस्तु र रुपका साथ नवमानवको आवश्यकता छ । सबभन्दा महत्वपूर्ण कुरा भनेको बिगतमा आफूले अख्तियार गरेको असान्दर्भिक तथा असामयिक नीति, सोच, बिचार, बानीब्यहोरा, क्रियाकलाप तथा कार्यक्रमलाई परित्याग गर्न तयार हुने र धरातलीय यथार्थका आधारमा नयाँ नीति तथा कार्यक्रमलाई अख्तियार गर्न तयार पार्नु हो । अर्थात नयाँ संस्कृतिको सिर्जना गर्दै मानव समाजलाई झन परिमार्जन गर्न सहजिकरण गर्न सक्नु पर्दछ । मुलुकको चौतर्फी विकासका लागि नयाँ संस्कृतिलाई प्रमुख माध्यमको रुपमा लिइने गरिन्छ । कोही ब्यक्तिलाई सुसंस्कृत बनाउँनु भनेको त्यस ब्यक्तिबाट समाजले उच्च चेतनायुक्त, त्यागी, समाजसेवी, न्याय, समानता र परिवर्तनको पक्षधर पूर्ण मानवको ब्यबहारको अपेक्षा गर्नु हो । यस प्रकारको उच्च चेतना युक्त पूर्ण मानवले सँधै अन्याय, अत्याचार, असमानता, शोषण, दमन, बिकृति, बिसंगति, अराजकता तथा अन्धबिश्वास, कुरीति र कुसंस्कारको बिरुद्धमा आफूलाई उतार्न तयार पार्छ र ईमान्दारिता, परिपक्वता, भद्रता, शिष्टता, जिम्मेवारीबोध तथा जवाफदेहीताका साथ सालिनता पूर्वक आफ्नो क्रियाकलाप अगाडि बढाउँछ । चाकडी, चाप्लुसी, जालझेल, षडयन्त्र, तिकडम््, खुराफाती, बेइमानी तथा संकुचित ब्यबहार एकजना उच्च चेतनायुक्त सुसंस्कृत ब्यक्तिको ब्यबहारको त कुरै छाडौँ, सोचको समेत बिषय हुन सक्दैन । तर आज समाजमा जुन प्रकारको बिकृति, बिसंगति, अराजकता, भ्रष्टाचार तथा ब्यभिचारहरुमा समेत राजनैतिक तथा सामाजिक आन्दोलनमा समाहित ब्यक्तिहरु नै पर्दामा देखा परिरहेका छन्् यसले मुलुकले उच्च चेतनायुक्त पूर्ण मानव बनाउँन सक्षम भै रहेको छैन भन्ने पुष्टि गरेको छ ।  तसर्थ नैतिक रुपमा उच्च चेतनशील तथा त्यागी बलिदानी नवमानवको सिर्जनामा मजदूर आन्दोलन केन्द्रित हुनु पर्दछ ।

ङ) नेतृत्व बिकासमा मजदूर आन्दोलनः बिभिन्न चरणमा हुने आन्दोलनहरुमा बिभिन्न बर्ग, समुदाय वा ब्यक्तिहरुले नेतृत्व प्रदान गरेका हुन्छन् । राजनैतिक रुपमा सामन्ती राजतन्त्रको अन्त्य भैसकेको परिप्र्रेक्षमा अबको प्रत्येक आन्दोलनको नेतृत्व मजदूर बर्गले गर्नु पर्ने हुन्छ । पुंजीबादको बिकास नभै सकेको अबस्थामा मजदूर बर्ग सहयोगी भूमिकामा रहन्थ्यो भने अबको चरण भनेको पुंजीको बिकासको चरण हो र मजदूरहरुको पनि संस्थागत बिकासको अबस्था हो । यस अबस्थामा अन्य बर्ग सहयोगी भूमिकामा रहन्छन्् । त्यसैले मजदूर बर्गले आफूलाई संयम, धैर्य, परिपक्व, जिम्मेवार, जबाफदेही बनाउँदै शालिन, नम्र, भद्र शैलीका साथ अन्य बर्ग, तह र तप्काका जनतालाई पनि गोलबन्द गर्ने कार्य योजना बनाउँनु पर्दछ । बिभिन्न सिरामा बिभक्त मजदूर आन्दोलनलाई एकताबद्ध गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण प्रक्रियामा सामेल गराउँनु पर्दछ । गुमाउँनका लागि केही नभएका मजदुरहरुले पद, प्रतिष्ठा, पहुँच, पहिचान वा परिचयका लागि गुट, फुट वा समूह उपसमूहमा बिभक्त हुनु कुनै पनि मूल्यमा जायज हुँदैन । त्यसैले त्याग, तपस्या र बलिदानको प्रतिक मजदूर बर्गले ब्यक्तिगत, गुटगत वा समूहगत स्वार्थ भन्दा माथि उठेर मानव जातीकै कल्याणमा आफूलाई उभ्याउँनु यतिबेलाको कार्यभार हो ।

साभारः पदम खडका स्मृति पुस्तककबाट