आजबाट एसइईको परिक्षा सुरु, ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी

प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा (एसईई) आज(आइतबार)बाट सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । जसका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ ।

संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।