खेतीमा आधुनिक प्रविधि भित्रिएन

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

रुकुम/ पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबीउसँगै विभिन्न आधुनिक कृषि प्रविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छन् । अहिलेसम्म खेतबारी खनजोतका लागि हल गोरु र काठबाट बनेको हलो र जुवाको प्रयोग भइरहेको छ ।

खेतबारीमा प्राङ्गारिक मलको प्रयोग भइरहेको छ । “अन्य ठाउँमा ट्याक्टरले छिटोछरितो खनजोत गर्ने गरेको सुनेको छु”, पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का तेजकुमार पुनले भन्नुभयो, “हामी भने अहिलेपनि गोरु नारेर खेतबारी जोत्छौँ, समय खर्चिलो हुने गर्दछ ।”

परम्परागत रुपमा गरिने खेती प्रणालीले समय सँगसँगै खनजोतका लागि जनशक्ति पनि धेरै नै आवश्यक पर्छ । अन्नबाली उत्पादन वृद्धि गर्नका लागि कृषकलाई आवश्यक ज्ञान सीप नहुँदा पनि पुरानै शैलीमा गरिने खेतीबाट उत्पादनमा वृद्ध हुन नसकेको किसानहरु बताउँछन् ।

यहाँका अधिकांश वासिन्दा कृषि व्यवसायमै निर्भर रहेपनि सिँचाइ सुविधा नहुँदा आकाशेपानीमा निर्भर रहनुपरेको छ । समयमै आकाशबाट पानी प¥यो भने बाली सप्रन्छ, पानी परेन भने किसानको दुःख खेर जाने गर्दछ । अहिले विकासको गतिसँगै जिल्लाका दुर्गम क्षेत्रमा सडक विस्तारको काम हँुदै गर्दा सबैको रोजाइमा दाङ, नेपालगञ्जबाट भित्रिने चामल र दाल परेको छ ।

“हामी मरीमरी पसिना बगाइ खेतीपाती लगाइन्छ, गाउँको उत्पादन बिक्री हुँदैन”, भूमे गाउँपालिका–२ का किसान सन्तु बुढामगरले भन्नुभयो, “कहिले पानी नपरेर बाली उम्रिंदैन त कहिले रोग लागेर बाली सप्रिदैन”, त्यस्तो अवस्थामा गहुँबालीमा कुन रोग लागेको हो र कस्तो औषधि प्रयोग गर्नुपर्छ भन्ने कुरा हामी किसानलाई थाहा हुँदैन ।