अन्यौलताभित्रको कविता

स्वर्निम गुरुङ प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

स्वर्णिम गुरुङ

कविता त लेखु भन्छु
तर खै ! अन्यौलमा छु,
कविता पो के बारे लेखुँ !
हर दिन महँगा रेस्तराँहरूमा
विभिन्न परिकारहरू,
जिब्रो पडकाउँदै खाएर
अघाएका ,
धन्याढ्य रोगी पेटहरूको
कविता लेखुँ कि
हर दिन भोका पेटहरूले
चिसिएका चुल्हो हेर्दा हेर्दा
आँसुले साथ छोडिसकेका
दुई खोपिल्टा भित्रका
निराश भोकाएका आँखाहरूको
कविता लेखुँ।
भाई भतिजावादको
फाईदा उठाई
सरकारी कार्यलयहरूमा
जागिर पाएका,
आँङ तान्दै, सरकारी कुर्सी तताउँदै बाबु बनेका
निम्न शिक्षित
जागिरे जमातका
कविता लेखुँ की
बर्षौं परिश्रम गरि कमाएका
डिग्री काखीमा च्यापेर
हर दिन विभिन्न कार्यलयहरूमा
रोजगार पाउने आशामा,
भौंतारिने शिक्षित बेरोजगार
विशाल जमातका
कविता लेखुँ।
महँगा औषधि उपचार
गर्न असमर्थ
सरकारी अस्पतालका खाटमा
लम्पसार लडेर मृत्यु कुर्दै
आत्मामा हर दिन
मर्दै बाँचिरहेका
जीर्ण रोगी प्राणहरूको
कविता लेखुँ कि
हाँस्ने, खेल्ने,पढने उमेरमा
साना साना हातहरूले
बिहान देखि बेलुकीसम्म
जुठा भाँडा माझ्दै
आफ्ना शरिरका वजन जतिकै
सब्जीका थैलाहरू बोकी
मालिकका पछि पछि हिड्ने
बाल श्रमिकहरूका
अव्यक्त पिडाका
कविता लेखुँ।
जीवनभर आफ्नै
परिश्रमले निर्मित आफ्नै घरमा
आधा पेट खाएर
बालबच्चाको भोक शान्त पार्दै
अस्ताउन लागेका उमेरमा,
एक प्याला तातो चिया पिउन्
आफ्नै संतानलाई
आशे आँखाले हेर्न विवश
वृद्ध वृद्धाका कविता लेखुँ कि
समय, जीवन र
ममताले लुटिएर
चाहुरिएका अनुहारमा
असिमित वेदना र
छाती भरि असन्तुष्टि बोकेर,
वृद्धाश्रममा बस्न वाध्य
बेवारिसे जीवनहरूको
कविता लेखुँ ।
कविता त लेखुँ भन्छु
तर खै ! अन्यौलमा छु
कविता पो के बारे लेखुँरु

March 14,2019 Kalebung Darjeeling