भारतमा लोकसभा निर्वाचनको मिति घोषणा, कस्ले मार्ला बाजी

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

भारत/ भारतका २९ राज्य र सातवटा केन्द्रशासित क्षेत्रमा सात चरणमा एक महिनापछि हुने लोकसभा निर्वाचनमा ९० करोड भारतीय मतदाताले मत खसाल्नेछन् । युरोपको पूरै जनसंख्याभन्दा पनि यो संख्या बढी हो । भारतमा चैत २८ देखि जेठ ५ सम्म सात चरणमा लोकसभा निर्वाचन तय भएको छ भने जेठ ९ गते निर्वाचन परिणाम घोषणा हुनेछ । नेपालसँग सीमा जोडिएका पाँच राज्यबाट भारतीय लोकसभामा एक सय ६८ जना सांसद निर्वाचित हुन्छन् । कुल पाँच सय ४३ सांसद संख्याको यो ३१ प्रतिशत हो । सिक्किममा एकजना, पश्चिम बंगालमा ४२, बिहारमा ४०, उत्तरप्रदेशमा ८० र उत्तराखण्डमा ५ सांसद जितेर दिल्ली पुग्छन् । यीमध्ये सिक्किम र पश्चिम बंगालको दार्जिलिङ नेपालीभाषी बाहुल्य निर्वाचन क्षेत्र हुन् ।

नेपालीभाषीको उल्लेख्य संख्या उत्तराखण्डमा पनि छ । छिमेकी राज्यभन्दा अलिकति पूर्व आसामको तेजपुर क्षेत्रमा पनि नेपालीभाषी निर्णायक भएकै कारण नेपालीभाषीले जित्दै आएका छन् । एक अनौपचारिक आँकडाअनुसार भारतमा करिब ७० लाख नेपालीभाषी मतदाता छन् । यीबाहेक २५ निर्वाचन क्षेत्र रहेको राजस्थान, चार क्षेत्र रहेको हिमाञ्चल र ४८ क्षेत्र रहेको महाराष्ट्रमा पनि नेपालीभाषी छन् ।

भाजपाले अघिल्लो निर्वाचनमा दुई सय ८२ सिट प्राप्त गरेको थियो । भाजपा एक्लै वा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले बहुमत प्राप्त गरेमा प्रधानमन्त्री नरेन्द्र मोदी दोहोरिने पक्का देखिन्छ । तर, कंग्रेससहित विपक्षीको एकीकृत प्रगतिशील गठबन्धन (युपिए)ले सरकार निर्माण गर्ने अवस्था आएमा प्रधानमन्त्रीका उम्मेदवार अझै तय भएको छैन । तीनजना नेता प्रधानमन्त्रीका लागि दाबेदार देखिन्छन् : राहुल गान्धी, ममता बनर्जी र मायावती ।

युपिएमा क्षेत्रीय दल हावी भएको अवस्थामा मायावती प्रधानमन्त्रीका बलियो उम्मेदवार हुन् । मिडिया तथा राजनीतिक विश्लेषक डा. आनन्द प्रधानको विश्लेषणमा देशैभर दलितको सेन्टिमेन्टका हिसाबले मायावतीको सम्भावना रहन्छ ।