मूल परेको छोरो

कृति समीक्षा

जय कार्की प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

पुस्तकको अग्रभागको कभर पेज

कृतिको नामः मूल परेको छोरो
विधाः कथा
लेखिकाः सीतादेवी क्षेत्री
प्रकाशकः नेपाली साहित्य परिषद
मूल्य रु. १००
सर्बाधिकार- लेखिकामा सुरक्षित
लेखिकाको ठेगानाः बि.पि.ओ. काङग्लातोङबी
पि.ओ. सेक्माई, इम्फाल वेष्ट मणिपुर
प्रथम संस्करण २०१८

समर्पणः
आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण ।

१० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट मारिएको छ ।

सरसर्ती पढदा कथाहरुले दिने संदेश जति दिनुपर्ने हो दिन सफल रहेका छन भने मूल परेको छोरो कथाद्धारा पुस्तकको न्वारन गरिएको छ । मूलतः अन्धविश्वास र रुढिबादको धज्जी उडाउन यो कथा सबैभन्दा सफल रहेको छ । र, यसले अन्धविश्वास रुढग्रस्त समाजको आँखा धितमर्ने गरी खोलिदिएको छ । पारिवारिक मानसपटललाई परिवर्तन गर्न सफल रहेको छ ।

पहिलो कथा भीष्म प्रतिज्ञा ले डुबिसकेको परिवारलाई नयाँ उचाईमा पु¥याउँन सफल छ । तर, अन्तमा मुख्य पात्र मालतीले त्यसको प्रतिफल प्राप्तिका लागि सँधै प्रताडित भैरहनुप¥यो र चोखो मायामा बाँधिन समेत नपाई उनको दुखद निधन हुनपुगेकोले भीष्म प्रतिज्ञा त सफल भयो । तर, दुखान्तमा टुंगियो र जसकालागि उनले जीवन बलिदान गरिन उनिहरुका स्वार्थी आनीबानीमा कुनै फेरबदल आएन । बरु उनिहरुले जेठी दिदी भएको नाताले भाई बहिनीप्रति उसको कर्तव्यका रुपमामात्र ग्रहण गरे । दिदीप्रति उनिहरुले गर्नुपर्ने सामान्य कर्तब्य बोध पनि गरेनन । यो समाजको यथार्थ हो; यसले नकारात्मक पाटोबाट सकारात्मक परिणामका लागि संदेश प्रवाह गर्न सक्षम रहेको छ ।

कथा पश्चाताप ले भयावह दुर्घटना र विकृतिका विरुद्धमा सजकमात्र गरेको छैन कि गलत कामको नजिता गलत नै निस्कन्छ र त्यसकालागि पश्चाताप गर्नु सिवाय अरु के बाँकी रहन्छ र ? भन्न सफल भएकोछ भने नारीपात्र शोभा कर्तव्यमा विना पूर्वाग्रह निरन्तर सतिसाल झैं ठिँगो उभिईरहिन भने सुलोचनाको लागि पश्चातापको भुँग्रोमा हिड््नु सिवाय अरु विकल्प नरहनु स्वभाविक लाग्छ ।
यो कथा पश्चाताप मा चर्चा गरिएका सुबेदारको आनीवानी र कडा अनुशासनमा आफैले ठूलो भ्वाङ पारेका छन किनबी खुसुक्क दोश्रो विहे गरेर ।

कथा बिहेको रहर ले पनि राम्रैगरी मन तानिरहन सफल छ । भरखरै युवावस्थामा पुगेका किशोरीहरुलाई कथाले उधिनेर सार्बजजिक गरेको छ । तर, माता पिताको थोरै लापार्वाहीले भयानक दुस्परिणाम निकालेको प्रष्टै छ । छोरीको बिहेगर्न हतारो गर्नुको सट्टा उचित शिक्षा दिएर स्वावलम्बी जीवन बनाउनेतिर पटक्कै ध्यान दिएनन । उनीहरुलाई छोरी विदाईमा नै हतारो देखियो र मद्यपानको लत लागेको जँडयाहालाई छोरी बुझाउँन हतारिने अभिभावकलाई दरो झापट हानेको छ ।
छोराको मृत्युपछि बुहारी र नातिनीलाई गलहत्याएर निकाल्ने सासुससुराले त बैवाहिक नाता र नातिनी समेतलाई आफन्त ठान्न सकेनन । जुन समयममा बुहारीलाई सहानुभुति हिम्मतको खाँचो जुटाई दिने आफन्तको खाँचो थियो; त्यहीबेलामा घृणा, लान्छना र तिरस्कार गर्नेलाई के उपमा दिने होला र ?

विवाह अघिको अति मिलनसार युगल प्रेमीहरु बैबाहिक जीवनमा प्रवेश गरेपछि कसरी बिखण्डिनतर्फ जान्छन भन्ने विषयमा केन्द्रित छ बुढाबुढीको झगडा
बुढाबुढीको झगडा ले नारी पुरुषकावीच समान अवसरप्राप्त भएपछि कुनै समश्या उब्जिदैन भन्ने सोच गलत हो । समान सहभागिता र समान हैशियतको पनि आवश्यकता पर्दछ ।। पुरुषप्रधान समाजलाई फेर्न निकै ठूलो संघर्ष गरेको छ । लोग्ने स्वास्नीको पवित्रमाया पिरतीका सम्वन्धलाई टिकाईरहन समान हैशियत र सम्मान दिन सक्नुपर्दछ । नत्र आफ्नै अगाडि निकै ठूलो विपत्तिले हुँदाखाँदाको दाम्पत्य जीवनलाई धराशायी पार्छ भन्ने तर्फ संकेत गराउँन सफल छ ।
बलिदान ले परिवारमा ठूलै रौनकता ल्याएको छ, परिवर्तन र संस्कारभित्रयाउन सफल छ । तर त्योसंगै उपभोक्तावादी चिन्तन र संस्कारमा डुबेकाहरुले बलिदानको गौरबमय अनुभूति गर्नै सकेनन । बलिदान त बर्दान भएर समाजको अघिल्लो मागमा पुजनीय हुनुपर्नेमा धर्मशालामा पो मानवधर्मको आश्रय लिएर बाँच्न र मन बुझाउँन बाध्ये हुन्छ । उपभोक्तावादी संस्कारमा डुबेका भाईबैनीहरुलाई दिदीकाृ बलिदानी गाथाले कहिल्यै झस्काएन, भतभति पोलेन के यही हो तिमीहरुले प्राप्त गरेको शिक्षा र संसकार भनि गिज्याउन सफल रहेको छ ।

मित्रताको सम्बन्ध कथाले पनि राम्रो सन्देश प्रवाह गरेको छ । मित्रहरुको वीचमा स्वार्थ प्रवेश गरेपछि सो सम्बन्धलाई नै कसरी नष्ट पारिदिन्छ भनि कथाकार क्षेत्रीले मनोबैज्ञानिकरुपमा राम्ररी प्रकाश पार्नुभएको छ । खासमा मित्रताभित्र महिला मित्रमाथि आफनो पुरुषको हैकमवादी दुष्ट भावना लादन खोज्दा त्यसले पारेको चतुरआयामिक असर ले कति भयानक खाडल खन्यो र त्यसलाई पुर्न अन्ततः सबैले निकै ठूलो मेहनत गरेपछि मात्र पहिलाको स्थितिमा फर्काउन सफल भएको पाईन्छ ।
यो कथाको यस्तो नकारात्मक पात्र हो नरेश जस्ले साथी निर्मला र नविन जस्ता निश्छल निष्कपट र निस्वार्थी मित्रहरुलाई चारित्रिकरुपमा सिध्याउँन के गर्न बाँकी राख्यो र ? तर उनीहरुको मित्रतामा कुनै घुनपुतली लागेन बरु अन्तमा बाउको सम्पतिको आडमा घमण्डको आहालमा चुर्लुम्म डुबेको नरेशले नसच्चिई धरै पाएन । मित्रतामा लुकेको अपवित्र चित्रण गरेर कथाले निकै मित्रहरुलाई सच्याउँन र खबरदारी गर्न सफल रहेको छ ।

दाईजो कस्तो घातक शब्द र संस्कृति हो भन्ने बारेमा क्षेत्रीजीले दुखान्त उदाहरण सहित प्रस्तुत गर्नुभएकोमात्र छ्रैन कि निकै छोटो र शसक्त शैलीमा प्रस्तुत गरिएको कथा हो दाईजो । दाईजो लिने र दिने दुवैलाई समाजले दुत्कार्नु पर्ने र लुकिछिपि पनि कुनै अदृश्य तरिकाले लिनुदिनु नहुने पृष्ठभूमिमा दाईजो ज्यानमारा शब्द हो भनि गजबले प्रकाश पार्न सफल हुनुभएको छ ।
चोखो मायामा उहाँ जनावरले मानव वा मालिकप्रति सुरक्षामात्र प्रदान गर्दैन माया पनि औधिनै गर्छ भनि घरमा पहरेदारीगर्न पालेको दुईवटा कुकुर नीरो र लुसीमार्फत कथामा विविधता थप्नु भएको छ भने जनावरप्रति आक्रमक स्वभाव देखाउने र हिंसामा उत्रिने प्रबृतिप्रति कडा प्रहार गर्नुभएको छ ।

मूल परेको छोरो कथा संग्रहको अन्तिम पातोमा परेको छ कथा साईनो
यो साईनो कथा कुनै अरु होइन एउटा उदाहरणीय मैत्री सम्बन्ध हो । दुई मित्रबिचको साइनोले जीवनको उकाली चढिरहेकै बेलामा जब एक जना साथीले भटाभट छोरीहरु जन्माउँन थाल्छिन; त्यसपछि ओरालो लागेको जिन्दगीमाथि बडो मिहिन तरिकाले प्रकाश पारिएको छ । अनेकौं प्रयत्नबाट सही बाटोमा ल्याउने काम गरेको छ ः बिछोड र विपत्तिमा परेको मित्रलाई मित्रधर्म अनुसार मिलाउने काम गरिएको छ । छोरा जन्माउने की छोरी ? यो आकाँक्षा पूरा गर्ने काम वा खटनपटन गर्ने स्वास्नीको हातमा हुँदैहुदैन । त्यसको सिंगो भार लोग्नेले बोकेको हुन्छ भनि पुष्टिगर्न सफल रहेको छ । कथा साईनो ।

पुस्तकको अन्तिम बहिरी कभर पेज

कथालाई जीवन्त पार्न कैयौं रमाईला दृश्य, स्थान र घटनाहरुलाई बडो आकर्षक ढंगले जोडन सफल छिन लेखिका । उनको वरिपरिको परिवेशलाई कथामा उनेको आभास भेटिन्छ । स्वैरकल्पनामा कथा डुबेको छैन बरु यथार्थ धरातलमा टेकेकोले कथाकार यथार्थवादी घटनालाई टिप्न खप्पिस हुनुहुन्छ भन्ने प्रमाण यही हो । नारी पात्रहरु उनको कथामा सबल छन, मेहनति छन निपूर्ण भएर आएका छन । अन्याय अत्याचारको विरुद्धमा सभ्य सैलीमा उत्पात मच्चाएका छन । यो कथा संग्रहलाई नेपाली कथा साहित्यमा अर्को नारी हस्ताक्षरको उदयकारुपमा लिनसकिन्छ ।
कथालाई अनाबश्यकरुपमा उहाँले कतैपनि छाडावादी यौन अश्लिलतालाई उप्काउने धृष्टता गर्नुभएको देखिएन । अचेल यौन अश्लिलतालाई नमिसाई कथा नै बन्दैन भन्ने धारणालाई ठाडो चुनौति दिनुभएको छ । यसकारण मूल परेको छोरो कथा संग्रहणीय छ पठनीय छ ।