आम आद्मी पार्टीकी सांसद अल्का लाम्बाद्वारा नेपालीप्रति तुच्छ टिप्पणी, सामाजिक सञ्जालमा तीव्र विरोध

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५

आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । उनले नेपालबारे अपमानजनक ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् ।

नेपालीहरु चौकीदार मात्र हुन् भन्ने आशयको ट्वीटले नेपाली जनमानसमा भारतीयहरुले हेर्ने दृष्टिकोण फेरि एकपटक स्पष्ट भएको छ । यसअघि भारतीय अभिनेता ऋतिक रोशनले पनि आफूलाई मन नपर्ने देश नेपाल र मन नपर्ने नागरिक नेपाली भनेर अभिव्यक्ति दिएका थिए । त्यसबेला नेपालमा भारतीय चलचित्र तथा गीतहरुलाई नागरिक स्तरबाट प्रतिवन्ध लगाउनुका साथै आन्दोलन तथा चक्काजाम समेत भएको थियो ।

बेला बेलामा यसरी भारतीय नागरिकबाट नेपाल र नेपालीप्रति गरिने यस किसिमका टिप्पणीले नेपालीलाई उत्तेजित मात्र होइन भारतीयहरुप्रति पनि वितृष्णा पैदा गर्ने गर्दछ ।

उनले आफ्नो ट्वीटमा लेखेकी छिन् :

प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।