लोत्से बहुउद्देश्यीय (प्रा.लि.)ले जारी गरेको अपमानजनक पत्रप्रति यातायात मजदुर संगठनहरुको गंभीर ध्यानाकर्षण

देवीप्रसाद खनाल/कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

काठमाडौं/ लोत्से बहुउद्देश्यीय (प्रा.लि.) को लेटरहेड र छाप प्रयोग भएको मिति र चलान नम्बर नभएको बसपार्कमा टाँसिएको सूचना र मिति २०७५ फागुन १९ गते काउण्टर व्यवस्थापन गर्ने सम्बन्धी चलान नम्बर ४६ को विभिन्न यातायात व्यवसायी संघ संस्थालाई लेखिएको पत्रप्रति यातायात मजदुर संगठनहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले संयुक्तरुपमा लोत्से बहुउद्देश्यीय प्रालि समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

काठमाडौं बस टर्मिनल, गोंगबु, बसपार्कमा काम गर्ने बुकिङ तथा अन्य मजदुरहरु देशभरिका विभिन्न यातायात व्यवसायी संघ संस्थाको नियुक्ति पत्र तथा संस्थाहरुको अनुमति लिएर वर्षौंदेखि जनसेवामा समर्पित श्रमजीवी मजदुरहरुलाई पैसाको बलमा दलाली तथा विचौलियाको घुसपैठका कारण वसपार्क अस्तव्यस्त बनाईएको छ । पैसाको बलमा श्रमजीवी मजदुरहरुलाई अपमान र द्वेषपूर्ण शब्दावलीको प्रयोग गर्दै श्रमिकहरुलाई उत्तेजित बनाउने र अवैधानिक रुपमा श्रमिकलाई एकोहोरो पेल्ने कार्यप्रति संगठनहरुले संयुक्तरुपमा ज्ञापन पत्र बुझाउँदै यस्तो दुरासयपूर्ण रुपमा प्रकाशित सूचनाप्रति दुवै संगठनहरुको तर्फबाट गम्भीर आपत्ति जनाउँदै तत्काल आफ्ना अभिव्यक्ति सच्याउन आग्रह गरिएको छ ।

पत्रमा उल्लेख गरिएअनुसार टिकट बिक्री प्रणाली स्वयं लोत्से प्रा.लि.ले गर्ने र सोका लागि व्यक्तिगत विवरणको माग गरिएकोप्रति संगठनहरुले ध्यान आकृष्ट गर्दै भनिएको छ– ‘हामी आग्रह गर्न चाहन्छौं कि टिकट बिक्री गर्ने कार्य लोत्सेको अधिकार क्षेत्रभित्रको कार्य होईन । यदि लोत्सेले आफ्ना अधिकार क्षेत्रलाई मिचेर टिकट बिक्री गर्न खोजिएको हो भने वर्षौंदेखि विभिन्न यातायात व्यवसायी संघ संस्थाहरुको कर्मचारीका रुपमा काम गरिरहेका बुकिङ लगायतका मजदुरहरुको वर्षौंदेखि श्रम गर्ने मजदुरहरुका श्रमको उचित मुल्यांकन गर्दै ऐन अनुसारका कानुनी उपचार र क्षतिपूर्तिको व्यवस्था लोत्सेले गर्नु पर्दछ ।’

बसपार्कमा देखिएका समस्याहरुका विषयहरु उल्लेख गर्दै दुईवटा ट्रेड युनियनहरुका तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समक्ष मिति २०७५ साल फागुन १२ गते नै ध्यानाकर्षण पत्र बुझई सकेको कुरा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङले जानकारी दिनुभयो । बसपार्क सुधारका विषयमा संगठनहरुको तर्फबाट योगदान गर्न तयार रहेको पनि संगठनको नेतृत्वबाले जानकारी दिएको छ । लोत्सेले समेत सरोकारवालाहरुलाई सहभागी गराई भावी बाटो तय गर्न आवश्यक भएको कुरा संगठनहरुले जनाएका छन् । अन्यथा लोत्सेले तयारी गरेका यस्ता अवैधानिक क्रियाकलापले मजदुरहरु र लोत्सेबीच चरम द्वन्द निम्त्याउने निश्चित देखिन्छ । यसले सबैभन्दा बढी वेफाईदा लोत्सेलाई नै हुनेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समक्ष संयुक्त रुपमा पेश गरिएको ज्ञापन पत्रको मर्म बमोजिम समस्याहरुको समाधान नगरिएमा बसपार्कको व्यवस्थापकीय क्षेत्र र श्रमिकहरुको रोजगारीका बारेमा जोडिएका विषयमा कुनै पनि निर्णय नगर्नको लागि दुवै यातायात संगठनले अपिल गरेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ध्यानाकर्षण पत्र

लोत्से बहुउद्देश्यीय (प्रा.लि.) को पत्र