मधेशमा जनमत संग्रह गर्ने निर्णय भएको छैनः गृहमन्त्री

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५

काठमाडौं/ सरकारले स्वतन्त्र मधेस गठबन्धनसंग स्वतन्त्र मधेश निर्माण गर्ने गरि जनमत संग्रह गर्ने सहमति नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापाले समय मागेर बोल्दै मधेसलाई नेपालबाट अलग गरी स्वतन्त्र मधेस निर्माण गर्ने कोणबाट कुनै सहमति नभएको स्पष्ट पारे ।

जनअभिमतको अर्थ जनमतसंग्रह नभएको भन्दै उनले स्वतन्त्र मधेस निर्माण गर्ने माग लाई सरकारले मानेको छ भन्ने सांसदहरुको विश्लेषण गलत भएको दाबी गरे । जनमत संग्रहमा कुनै सहमति नभएको भन्दै उनले सिके राउतले जनमत संग्रह नै हो भने त्यो सहमति विपरित हुने बताए ।

सहमतिमा उल्लेख भएको शब्द जनअभिमतलाई जनमत संग्रहका रुपमा व्याख्या गर्न खोजिएको भन्दै उनले शब्दको मर्म विपरित भ्रम श्रृजना गर्ने काम भएको दाबी गरे । सहमति गर्दा शब्दहरुमा सरकार चिप्लिएको भन्ने गम्भीर आशंका गर्नु केबल भ्रम मात्रै भएको टिप्पणी गरे ।

स्वतन्त्र मधेस गठबन्धनसंग भएको राजनीतिक सहमति ऐतिहासिक सहमति भएको र यसले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको रक्षा गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको दाबी गरे । मन्त्री थापाले सो समुहले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेस राज्यको गठन गर्ने आफ्नो लक्षलाई परित्याग गरेको र नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता स्वाधिनता रक्षा गर्नका लागि आफ्नो कर्तव्य ठान्नेछौ भन्ने सहमतिमा पुगेको स्पष्ट पारे ।