अध्यक्ष प्रचण्डले विप्लव समूहका गतिविधिलाई राज्यले गम्भीर रूपले लिनुपर्ने बताए

प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहका गतिविधिलाई राज्यले गम्भीर रूपले लिनुपर्ने बताएका छन् । उनले त्यसको समाधानको लागी सरकारले छलफल जारी राखेको खुलासा समेत गरे ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सोमबार पत्रकार सम्मेलनमा बोल्दै अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रूपले सोच्ने र राजनीतिक र प्रशासनिक दुबै तरिकाबाट विप्लव माओवादीको समाधान खोजिने जानकारी दिए ।

‘सरकारले राजनीतिक रुपमा सहमतिको प्रयास गर्छ तर,त्यसलाई कसैले मान्दैन भन्छ भने त्यो अतिवाद हो, सरकारले त्यसलाई प्रशासनिक ढंगले हल गर्छ ।’ प्रचण्डले भने।

उनले तत्कालिन माओवादीले सबै हतियार शिविर (क्यान्टोन्मेन्ट) मा राखिएकाले त्यस बाहिरका हतियारको जिम्मा आफूहरूले नलिने स्पष्ट पारेका छन् । केही समयअघि विप्लव नेतृत्को नेकपाका कार्यकर्ताबाट नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार प्रहरीले बरामद गरेपछि प्रचण्डको यस्तो भनाई आएको हो ।