एकै पटक सात सन्तानलाई जन्म, सातै सन्तान जीवितै

स्वास्थ्य

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५

इराकमा एक २५ वर्षे महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । स्थानीय स्वास्थ विभागका प्रवक्ताले एक वक्तव्य जारी गर्दै आमा, उनका ६ छोरी र एक छोराको स्वास्थ्य राम्रो भएको जानकारी दिएका छन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ ।

ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।

अमेरिकाको लोवा राज्यमा सन् १९९७ मा एउटी आमाले सात जीवित बच्चालाई जन्म दिएकी थिइन् । यसलाई यस्तो प्रकृतिको संसारकै पहिलो घटना मानिन्छ ।

अमेरिकामा उक्त घटना यति चर्चित भएको थियो कि तत्कालीन राष्ट्रपति बिल क्लिंटनले उक्त परिवारलाई फोन गरेका थिए र परिवारलाई विभिन्न चर्चित कार्यक्रममा पनि बोलाइएको थियो । थुप्रै कम्पनीले जोडीलाई मद्दत प्रदान गर्न अग्रसर भएका थिए । उनलाई एउटा घर उपहारस्वरुप दिइएको थियो ।