प्रधानमन्त्री ओलीबाट भयो पानी जहाज कार्यालयको उद्घाटन

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

काठमाडौँ/ सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एकान्तकुनमा रहेको कार्यालयको उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधार मन्त्रालय मातहत रहनेगरी कार्यालय उद्घाटन भएको हो। यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय समेत स्थापना भएको थिएन ।

माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको थियो ।

पानी जहाज कहिले सञ्चालन हुने कुनै यकिन नभए पनि सरकारले कार्यालय भने स्थापना गरेको हो । सञ्चालन पूर्वका धेरै कामहरु भने बाँकी छन् । कार्यालय स्थापनासँगै पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकाल्ने तयारी सरकारको छ ।

कार्यालय स्थापनासँगै मौजुदा कानुनहरु परिमार्जन पनि हुनु पर्नेछ ।