कायरले बन्दुक पड्काउँदैन

कविता (आस्था र विद्राेह कविता संग्रह)

राजेश वान्तवा । प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५

कातरहरु
ठूलो स्वरमा कराउँछन
चिच्याउँछन
किनभने
उनीहरु डराउँछन्
हावाले पात हल्उाँदा पनि
तर्सिने गर्छन् ।

कायरहरुले घुर्कि लाउन जानेका हुन्छन्
बहाना बनाउँन सिपालु हुन्छन्
ढाट्न छल्न खप्पिस हुन्छन्
साँचो कुरो देखि
डरले टांग मुनी पुच्छर लुकाउँछन् ।

कायरहरुले थुतुनो
जति तिो पारे पनि
जति कोहोलो मच्चाए पनि
संघर्षबाट डराउँछन्
यस्ताहरु कायरहरु
संघर्ष, संग्रामको मैदानमा
जहिले पनि पिठ्युँ फर्काउँछन् ।

कायरहरु
खुकुरीमा साद त लगाउँछन्
तर खुकुरी दापमै खिया पर्छ
बैरी विरुद्ध चलाउने हिम्मत गर्दैनन्

कायरहरु
गोली नभरेको बन्दुक पनि
पड्किन्छ भनी दश हात पर भाग्ने गर्छन् ।