अमेरिका-भारत ब्यापार युद्ध शुरु, अमेरिकाले हटायो भारतमाथि शुन्या भन्सार सुविधा

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५

अमेरिकाले वैदेशिक व्यापार घाटा कम गर्न चीनपछि अब भारतमाथि पनि कडा कदम चाल्ने भएको छ । अमेरिकाले भारतलाई दिँदै आएको शून्य भन्सार सुविधा कटौती गर्न लागेको छ । अमेरिकाले सन् १९७६ देखि दुईहजार भारतीय उत्पादनलाई जर्नलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जिएसपी)को मान्यता दिँदै शून्य भन्सार सुविधा दिँदै आएको थियो । अमेरिकाले विकासोन्मुख देशका आर्थिक विकासका लागि यो सुविधा दिनेगर्छ ।

चीनमा उत्पादित सामग्रीमा भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीच व्यापारिक तनाब जारी छ । चीनले अमेरिकी सामग्रीहरुलाई लक्षित गर्दै त्यस्तै कदम चालेको छ । यसलाई ‘अमेरिका र चीन व्यापार युद्ध’को रुपमा लिइँदै आइएको छ ।

ट्रम्प अमेरिकाको राष्ट्रपति भएयता भारतसँगका व्यापार घाटा कम गर्न कदम चाल्न प्रयासरत छ । यस्तो कदम चाले भारतको निर्यात व्यापार नराम्रोसँग प्रभावित हुनेछ । भारतसँग व्यापारिक सम्बन्धमा रहेको ‘विभेदकारी भन्सार दर’को कारण भारतको पल्लाभारी रहेको ट्रम्प प्रशासनले विश्लेषण गरेको छ । सन् २०१७–१८ मा भारतबाट अमेरिकातर्फ ४७ अर्ब ९० करोड अमेरिकी डलरका सामान निर्यात भएको थियो । भारतले २६ अर्ब ७० करोड अमेरिकी डलरको मात्र सामान आयात गर्यो ।

सन् २०१८ नोभेम्बरमा अमेरिकाले ५० वटा भारतीय सामानमाथि शून्य भन्सार दर हटाइसकेको छ । भारतले पनि अमेरिकाबाट आयात हुने २३ करोड ५० लाख अमेरिकी डलरका सामग्रीमाथि भन्सार बढाउने प्रस्ताव गरेको छ ।