हाइकु अर्थात जापानी कविताबारे संक्षिप्त चर्चा

अर्जुन शर्मा प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

अर्जुन शर्मा, गीतखोला कालेबुङ, भारत

साहित्यका धेरै बिधाहरू छन् गद्य, पद्य , निबन्ध, नियात्रा इत्यादि । यहाँ यो लेखमा पद्य तथा कविता सम्बन्धी केही चर्चा गरिनेछ । कविताका पनि धेरै रूपहरू छन् । आदिकालमा श्लोकबद्ध कविता लेखिन्थ्यो जो छन्दोबद्ध हुन्थ्यो । समयको अन्तरालसंगै कविताको रूपमा पनि परिवर्तन हुँदै आयो । पहिला लामा लामा कविताहरू लेखिन्थ्यो । काव्य, खण्डकाव्य,महाकाव्य धेरै लेखिएका छन् ।
आधुनिक कालमा आएर छन्दोभंग कविता लेख्न थालियो । गद्य कविताहरू लेखिन्छन् आजकल । हिजआज कवितामा एकरूपता छैन । आजकल देश, काल र परिस्थितिलाई हेरेर कविता लेखिन्छन् ।
हिजआज नेपाली साहित्यमा छोटा कविताहरू मुक्तक, विम्व, युग्मक तथा तीन हरफे कविताहरू पनि लेखिन्छन् । तर, छोटा कविताहरूमा अहिलेसम्मकै सबैभन्दा छोटा तथा बामपुड्के कविता हाइकु हो । यो हाइकु कविता जापानी शैलीका छोटा तथा बामपुड्के ,बोनसाई कविता हुन् ।
अब यो जान्न आवश्यक छ कि वास्तवमा हाइकु कस्ता कविता हुन् त ?
यो कविता जापानमा इडो युगका कवि तथा चित्रकार मात्सुओले शुरू गरेका थिए उनी हाइकुको जन्मदाता हुन् । उनको प्रसिद्ध हाइकु यस्तो छ ।

पुरानो ताल
उफ्रिएका भ्यागुता
जलतरंग ।।

जापानका अन्य चर्चित हाइकुकारहरूमा कुसोन, सिक्की र इस्सा हुन् । हाइकु सम्पूर्णमा एउटा छोटो सन्देशमूलक, ब्यँग्यात्मक बिशिष्ट कविता हो । कविताका सम्पूर्ण गुण हाइकुमा पाइन्छ । जापानी हाइकुमा प्रकृतिको एउटा तत्व उल्लेख गरिनु पर्छ । हाइकु सत्र अक्षरको बिम्वात्मक कविता हो, जहाँ पहिलो पंक्तिमा पाँचवटा अक्षर दोस्रोमा सातवटा अनि अन्तको पंक्तिमा पाँचवटा अक्षर हुन्छन् । तर,खुट्टा काटिएका र आधा अक्षरको गन्ती हुदैन । जस्तै-

थन्कियो न्याय
प्रजातान्त्रिक देश
जन्ता हैरान ।।

पहिलो र तेस्रो लहरमा परस्पर बिम्ब झल्केको हुनु पर्छ । जस्तै-

चाँदी श्रीपेच
घामका झुल्काहरू
मुसुक्क हिउॅ ।।

चिसो हिमाल
सफेद गलबन्दी
सेतो बरफ ।।

विभिन्न ॠतुहरूलाई लिएर पनि हाइकु लेखिन्छ । ॠतुसुचक हाइकुमा मौसमको बारेमा उल्लेख गरिनु पर्छ ।
जस्तै-

कालो गुलाब
मगमग वासना
बसन्त ॠतु ।।

शरद ॠतु
चरीको चिरबिर
सुन्दर पृथ्वी ।।

वर्तमान समयमा हाइकु भारतेली भाषा हिन्दी र बंगलामा पनि लेखिएको पाइएको छ । भारतमा हाइकु विश्वकवि रबिन्द्रनाथले अंग्रेजी सम्वद् १९२२ सालमा जापानी हाइकुको बंगला अनुवाद प्रकाशित् गरेका थिए । हिन्दी भाषामा पनि हाइकुहरू धेरै लेखिएका छन् । नेपाली भाषाको पहिलो हाइकु बिक्रम सम्वद १९१९ सालमा श्री शंकर लामिछानेको सूर्यदय शिर्षकको हाइकु हो।
बर्तमान समयमा नेपाली भाषामा लेखिने आधुनिक हाइकुहरू प्रास्य स्वतन्त्र रूपमा लेखिएको पाइन्छ । जापानी हाइकुको खाँट्टी नियमलाई पालना गरिएको पाईँदैन । तर पनि आधुनिक हाइकुमा एउटा कवितामा हुनुपर्ने विम्व समावेश भएको पाइन्छ । जस्तै-

पापी बादल
छेकिरहेछ सूर्य
पाप न पुन्य।।

शैशवकाल
लुटपुटिने काख
माटोमा मिल्यो ।।

म रमाउॅदा
तिम्रा ती आँसुहरू
मोती बन्दथ्यो ।।