नेविसंघ अध्यक्ष महराले दिए पदबाट राजिनामा, कांग्रेसमा मच्चियो खैलाबैला

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

नेविसंघका अध्यक्ष नैनसिंह महरले आज पार्टी सभापति शेरबहादुर देउवा समक्ष पदबाट राजीनामा दिएका छन् । नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पछिल्लोपटक पुनः थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

यद्यपि नेपाली कांग्रेसले आगामी स्ववियु निर्वाचनसम्म यही कार्यसमितिलाई निरन्तरता दिने भनेको थियो । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ ।