बहादुर….!!!

कविता

स्वर्णिम गुरुङ प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

शिरमा खुकुरी जडित
ढाका टोपी ,
हातमा लौरो।
मुखमा छ
सलाम साब, सलाम साब
हात सलामी मुद्रामा।
चिन्नु भो हजुर रु
मेरो देशले चिनेको
म हुँ गोर्खा ,
मेरो नाम
बहादुर..
मेरो परिचय
बहादुर।
शिक्षित छन् मेरो जाति
योगदान दिईरहेछन
देशलाई हर क्षेत्रमा ।
तर थाहा छैन हजुर..
कसरी बदलियो
अर्थ बहादुरको ?
विश्व परिचित गोर्खा
किन व्यंग्यको पात्र
बहादुर भयो ?
पुर्खा त मेरो साँच्चै
बहादुर नै थिए,
विश्वले चिनेको
निडर योद्धा थिए।
काल थिए रणभूमिको
थरथर काँप्थे वैरी,
गगनभेदि आवाजले जब
जय महाकाली
आयो गोर्खाली भनी
जब जाईलाग्थे शत्रु माथि।
आज सम्म मेरो जाती
देश रक्षामा जुटिरहेछन्,
सिमानामा सहिद बन्दै
आफ्नो ज्यानको
बलिदान दिइरहेछन् ।
तर किन हो हजुर..
मेरो जातिको बलिदानको
कुनै मूल्य छैन
मेरो देशमा,
आफ्नो भन्नुलाई मेरो जातिको
कुनै घडेरी छैन
मेरो देशमा।
अब त धेरै भो हजुर..
विश्व थर्काएको खुकुरीमा
खिया लागेको ,
धेरै भो मेरो पुर्खाले
कमाएको तक्माहरूमा
बाक्लो ध्वाँसो लागेको।
यसैले होला ..
हिजो आज मेरो देशले चिनेको
त्यो बहादुर हुँ म,
खुकुरी छोडी लौरो पक्रिएको
मात्रै एक चौकीदार
हुँ म।
सलाम साब भन्न मैं सिमित
चलचित्रमा दर्शाउने
हाँस्यको मूर्ख
पात्र हुँ म।
तर ..
अब त असह्य भो हजुर
मेरो परिचय मलाई ,
अपाच्य भो अब
बहादुर नाम मलाई ।
अब बाँच्नु छ मलाई
आफ्नै नाममा,
प्रमाण दिनु छ अब मैले
त्यही वीर गोर्खाको
सन्तति हुँ भनी।
चाहिएको छ मलाई
मेरो देशमा अब
आफ्नै घडेरी ।
बताउनु छ मेरो देशवासीलाई
अब मैले मेरो
वास्तविक परिचय
र ..
बाँच्नु छ युगौं युग
वीर बहादुर गोर्खा नै बनी।

 

-Kalebung Darjeeling, India