कांग्रेस गर्जन, सरकारले नेपाललाई भेनेजुएला बनाउँदैछः कांग्रेस नेता महत

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

लमजुङ/ कांग्रेस नेता प्रकाशशरण महतले सरकारको दवदवा कायमै रहे सरकारविरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् । दुईतिहाईको सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको उनले टिप्पणी गरे ।

प्रेस युनियन लमजुङले शुक्रबार बेंसीसहरमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘मुलुकमा हत्या, हिंसा, बलात्कार, अराजकता, भ्रष्टाचार बढेको छ । पीडितले न्याय पाउनुको सट्टा उल्टै पीडित बन्नुपरेको छ । जनताका मागलाई बेवास्ता गरिएको छ । महँगी र करले जनता मारमा परेका छन् । अर्थतन्त्र ऋणात्मक छ । यस्तो अवस्थामा हामी हामी चुप लागेर बस्न सक्दैनौं ।’अहिले कार्यकर्तामात्रै सडकमा आउन थालेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका उनले सरकारको यस्तै रवैया देखिरहे जनतालाई पनि सडकमा उतार्ने उनले चेतावनी दिए ।

सरकारलाई सच्चिन आग्रह गर्दा पनि नसच्चिएपछि आन्दोलनमा जानुपरेको उनले बताए । ‘जबसम्म हाम्रो आवाज सरकारले सुन्दैन । हामी विरोधका कार्यक्रम गरिरहन्छौं’ उनले भने, ‘हामीलाई सडकमा जान बाध्य पारिएको छ । सडकमा जानु हाम्रो रहर होइन ।’ सरकारको काम देखेर नागरिक सन्तुष्ट नबनेको उनले आरोप लगाए । ‘नेकपाकै कार्यकर्ता सरकारको विरुद्धमा छन् । सरकारको कामकारबाही मन पराएका छैनन् । हामी त प्रतिपक्ष भयौं’ उनले भने । बेथिति नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना बढेको उनले बताए ।

वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नभएको उनको आरोप थियो । भेनेजुएला प्रकरणबारे उनले भने, ‘लोकतन्त्र नभएको भेनेजुएलासँग सरकारले उस्कै पद्धति सिक्दैछ । सरकारले नेपाललाई पनि भेनेजुएला जस्तै बनाउन खोजेको छ । भेनेजुएलाको रोलमोडल मानेर सरकार अघि बढ्न खोज्दैछ । यो सह्य छैन ।’

कांग्रेसले नयाँ रणनीति दिएको र सरकारलाई आफूखुसी गर्न नदिने नेता महतले बताए ।