अब युद्ध जंगल गएर हैन खुलेआम सहरमा बसेर गरिन्छः दिनेश बिक

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश बिकले अबको लडाइ सहरकेन्द्रित हुने बताएका छन् । सो पार्टी निकट युवा संगठनले बाँकेको कोहलपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
उनले सरकारले नियोजित रुपमा आफुहरुलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै आजको नेपालमा युद्ध नभइ क्रान्तिको आवश्यकता रहेको धारणा राखे । संगठनको पश्चिमब्युरो इन्चार्ज समेत रहेका उनले भने, “एकथरी मान्छेहरु हामीलाई जंगल जान्छन् भन्ने प्रचार गर्दैछन् । जंगल जाने, भुमिगत हुने कुरा हैन अबको निर्णायक लडाइ शहरमै हुन्छ ।”

उनले क्रान्तिको शैली देश, काल र परिस्थितिअनुसार हुने बताउदै अगाडी थपे, “हामीले नयाँ ढंगले नेपालमा क्रान्ति सम्पन्न गरेर बैज्ञानिक समाजवादको स्थापना गर्ने संकल्प गरेका छौं । एकीकृत जनक्रान्ति भनेको जनयुद्धको पुनरावृत्ति हैन बरु नयाँ सन्दर्भमा जनयुद्धको बिकसित र बिस्तारित कार्यदिशा हो ।”

पुजीवादी ब्यवस्थाले संसारभर युद्ध, अशान्ति, निराशा, अस्थिरता निम्त्याएको भन्दै शान्ति, समृद्धि र स्थायित्वका लागि बैज्ञानिक समाजवाद अपरिहार्य रहेको उनको भनाइ थियो । उपाध्यक्ष दिनेशले एकिकृत जनक्रान्ति मार्फत किसान, मजदुर, युवा, दलित, महिला देखि मध्यमवर्ग, राष्ट्रवादी सबै शक्तिलाई साथमा लिएर राज्यलाई नयाँ ठाउँमा पुर्याउने अठोट व्यक्त गरे ।

जनयुद्ध दिवसको पुर्वसन्ध्यामा युवा संगठन नेपाल भेरी ब्युरोले “दशबर्षे जनयुद्ध, एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

युवा संगठनका केन्द्रीय सदस्य बिष्णु अद्धितियको अध्यक्षमा सम्पन्न कार्यक्रममा राजनैतिक बिश्लेषक डाक्टर जनार्दन आचार्य, अर्थशास्त्री कमानसिंह बोहरा, बाम बुद्धिजीवि शिवसुन्दर शाही, उपप्राध्यापक ललितप्रकाश चन्द, बागेश्वरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारी, माओवादी केन्द्रका नेता रंगनाथ ढकाल, नेकपा बाँके नेता वसन्त बिक लगायतले आफ्नो धारणा राखेका थिए ।