खोकु छिन्ताङ र वर्तमान

कविता (आस्था र विद्रोह कविता संग्रह)

राजेश वान्तवा । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

आलो रगतमा
लतपतिएर
थर थर काँप्दै
उठ्न खोजिरहेछ
खोकु छिन्ताङ
तर चुपचाप छ
वर्तमान ।

टाउको भरी चोटै चोट
अंगभरि डामै डाम
पीडावोध गरिरहेछ
खोकु छिन्ताङ
कोही बोलिरहेको छैन
वर्तमान ।

युगले सुम्पेको जिम्मेवारी
प्रतिगमन हुन लागिरहेछ
पुनरुत्थान हुन लागिरहेछ
यसदेखि अत्यास मानिरहेछ
खोकु छिन्ताङ
कतै केही बोल्न सकिरहेको छैन
वर्तमान ।

परिवर्तनको लागि
समयले पखेटा फट्फटाइरहेछ
जुर्मुराइरहेछ
खोकु छिन्ताङ
केवल मुकदर्शक छ
वर्तमान ।

यथास्थितिसँग
संझौता गर्न नसकेर
उकुसमुकुस भएर
विस्फोट हुन लागिरहेछ
खोकु छिन्ताङ
किन बोल्न सकिरहेको छैन
वर्तमान ?

यस्तै यस्तै
कुकर्म बढ्दै गयो भने
पाखण्डको घैला भरियो भने
फेरि २०३७ साल जन्माउन सक्छ
खोकु छिन्ताङ
किन केही बोल्दैन यो
वर्तमान ?