भारतीय हुनलाई मेरो अनुहार कस्तो हुनुपर्छ ?

कविता

 कवि केवलचन्द्र लामा प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

आँखैमा राख्दा पनि नबिझाउँने के हो ?

आमा कि देश ?

आमा, बाबा र भारतीय पानी मुछिएर बनिएको

भारतीयको अनुहार कस्तो छ ?

म तुरुवनन्तपुरमबाट उकालो चढेको

कालो पसिना तर म मद्रासी होइन ।

भारतीय भन्नलाई मेरो अनुहार कस्तो हुनुपर्छ ?

म सर्वविद्याको राजधानी काशी पढ्दै गरेको

अरुणाचली छात्र, म चिनिया होइन

भारतीय भन्नलाई मेरो अनुहार कस्तो हुनुपर्छ ?

म काले अग्ले घुँघुरिएको केश,

यस्तो हुन्न र भारतीय अनुहार ?

म पुडके गहुँगोरो पहाडबाट झरेको

अनि टिस्टा-ब्रह्मपुत्रमा

बगेको म दुर्गा मल्ल ।

मेरो सालिक छ संसद भवनमा ।

मलाई विदेशी भन्छौ भने

कस्तो हुनुपर्छ भारतीय अनुहार ?

म राधाकृष्णन्, म पटेल र म सुभाषचन्द्र ।

म वीरबहादुर, म सोमरा  म परमिन्दर ।

म मन्दिर, स्वर्ण मन्दिर, म गिर्जाघर,

मस्जिद र गुम्बा ।

कस्तो हुन्छ यी सबैको घुलमिल अनुहार ?

मलला जस्तै म शबनम

म बुर्काको काखमा राख्छु यो देश

मेरो अनुहार कस्तो हुनुपर्छ ?

म भीमराव अम्बेडकरको मित्र अडिबहादुर गुरुङ

१९४९ को भारतीय संविधानको मस्यौदामा

सहीछाप गरेको छु

भारतीय भन्न मेरो अनुहार कस्तो हुनुपर्छ ?

नेहरूको पालामा महासचिव भएर भारतीय राष्ट्रिय काङ्ग्रेस

सम्हालेको म थियोडोर मनेन,

म गोर्खा हुँ इज्रायली यहुदी होइन,

भारतीय भन्नु मेरो अनुहार कस्तो हुनुपर्छ ?

फुटबलको चन्दनसिंह, हकीको ध्यानचन्द,

गीतकी मङ्गेशकर र नेता नमुद्रीहरू

शिखरदेखि सागरसम्म छन् ।

छेत्रीले गोल हाल्दा, तेन्दुलकरले सेन्चुरी हान्दा,

हजारिकाले गाउँदा र तेनजिङले चुचुरो टेक्दा

रमाउने अनुहार एउटै छ त ?

नेप्टे, चेप्टे, चुच्चे, फेडे, काले,

गोरे, राते, फुस्रे सब एउटै ।

अब तिमी नै भन न –

भारतीयको अनुहार कस्तो हुनुपर्छ ?