यसैवर्ष भित्र बुढीगण्डकीको मुआब्जा वितरण गरिन्छ : मन्त्री पुन

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५

काठमाडौं/ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण यसैवर्ष भित्र गरिने बताएका छन् । जनताको गुनासो सम्बोधन गर्नका लागि हरेक हप्ता शुक्रबार मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म हटलाइन सेवा सुरु गरेका मन्त्री पुनले आयोजना प्रभावित स्थानीयको गुनासो सम्बोधन गर्दै मुआब्जा निर्धारण भइसकेका सबैको मुआब्जा यसैवर्ष भुक्तानी गरिने बताए । उनले भने, ‘आरुघाट, आर्खेत र खहरेको मुआब्जा निर्धारणमा केही ढिला भएको छ । यी क्षेत्रको मुआब्जा पनि यसै साल निर्धारण गछौं ।’ ‘जुनजुनको निर्धारण भइसकेको छ । त्यसको यसैवर्ष भुक्तानी गछौं ।’ उनले स्पष्ट पारे ।

माघ २५ गते हटलाइनमा कुरा गर्दै मन्त्री पुनले बुढी गण्डकीको क्षमता घटाउने भन्ने विषयमा आएको समाचारको पनि खण्डन गरे । उनले प्रतिनिधिसभा अन्तर्गतको कृषि, जलस्रोत, तथा प्राकृतिक स्रोत समितिमा छलफल हुँदा विगतमा ३ सय, ६ सय, ९ सय हुँदै अहिले १२ सय मेगावाट क्षमतामा अध्ययन भएको भनिएपनि अहिले १२ सय मेगावाटको स्वीकृत डकुमेन्टमा काम अघि बढेको प्रस्ट्याए । हटलाईनमा पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्मका सेवाग्राहीले विद्युत, सिचाई जलविद्युत लगायतका विषयमा गुनासो गरेका थिए । मन्त्री पुनले गुनासोको प्रकृति अनुसार तत्काल समाधान हुनेलाई तत्काल र केही समय लाग्ने समस्यालाई आवश्यक कदम चाल्न सम्बन्धि सम्बन्धीत कार्यालयलाई फोन गरेर निर्देशन दिएका छन् ।