श्रमिक र सपना

द्वारिका छेत्री प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५

चैत वैशाखको
प्रखर गर्मीको दिन होस
या
पुस माघ महिनाको
कठ्यांग्रिने जाडो
या फेरि
वर्खा यामको
चुहुँदो झरी
प्रतिदिन,
चियाको बोटमुनि
मल जल गरि बस्छ
सपनाहरु गोडी बस्छ
श्रमिक।
अनि
चियाको हरियो कलकलाउँदो मुनाहरु
मौलिएको हेर्दै सोचि बस्छ उ,
मालिकको मन पनि यसरी नै मौलाए त ?
सपना देख्ने अधिकार
कसैले खोस्न सक्दै सक्दैन
तर
सपनालाई पूरा गर्ने हुतिकार भने
छदैँ छैन उसको।
एउटा ला…मो शुष्क
खुइय्य तानेर
एक भारी निराशाहरु बिसाउँछन्
अनि
टोक्री भरिभरि
टिपी बस्छ
गह्रौं यथार्थ जीवनको।
चियाको हलुँगा मुनालाई
टोक्रीमा जोड लगाएर खाँदे झैँ
मनको कुनामा ख्वाप्पै खाँद्छ
उसको हलुँङ्ग रहरहरु
खोक्रो सपनाहरु
अनि थुप्रै अपुग
अभावहरुलाई …
यता, प्रखर घाममा
श्रमिकको निधारमा चिसो पसिना सुक्छ
उता फ्याक्ट्रीको तातो ब्लोअरमा
ओइलिन्छ
पेलिन्छ
गुम्सिन्छ
अनि सुकेर स्वादिलो भइ निस्कन्छ
गरीब मजदुरको सस्तो सपना
बेग्लाबेग्लै रुपमा
बेग्लाबेग्लै रङ्गमा
बेग्लाबेग्लै स्वादमा
अनि बिक्छ महंगो भाउमा
विश्व बजारमा प्रख्यात
दार्जिलिङ टी ।
हरेक वर्ष दोहोरी बस्छ
मनको पाटाभित्र एउटै प्रश्न
कति प्रतिशत बड्ला हौ यसपाली बोनसको दर ?
मालिकको लोभको भाँडा जति बडिदिए त !
बनिने थियो नि उसको पनि
सुन्दर सुकिलो सपनाको घर
पूरा हुने थियो नि उसको
सुक्सुकउँदो जीवन जीउने रहर
अनि
आफ्नो आँगन छोडेर जानु पर्ने थिएन
केवल पैसा कमाउँन
अर्काको विरानो शहर।
तर खै ?
सपना जस्तै बोनस हो कि
बोनस जस्तै सपना !
यथार्थले जहिले पनि भत्काइदिन्छ
अभावहरुले सधैं ब्युझाँइदिन्छ
कहिले पुग्दैन उसको
झुत्रो भइसकेको
जिन्दगीलाई सच्याउन
टन्टलापुर घाममा
गम्बुटभित्र दिनभरि
गुम्सिएको खुट्टाजस्तो ।
उकुसमुकुस हुन्छ मन
अनि महिनौसम्म
दर्कने पानीमा भक्कु भिजेको
छालाको जुत्ता जस्तै
गह्रौं लाग्छ जीवन ।
सोचि बस्छ श्रमिक,
यो कलिलो मुनाले
रित्तो टोक्री क्षणभर मै भरिए झैं
त्यो लोभी मालिकको लोभको भाँडा पनि
डम्म भरिदिए त ?
साकार हुने थियो जीवन
हाम्रो मजदुरीको दर पनि
ह्वात्त बडिदिए त !!

-खर्साङ