नेकपाले छोडेन भेनेजुएलामा भएको ‘अमेरिकी हस्तक्षेप’को विरोध गर्ने अडान

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २१, २०७५

काठमाण्डौ/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुएलामा भएको ‘अमेरिकी हस्तक्षेप’को विरोध गर्ने पार्टीको अडान दोहोर्‍याएको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीँका नागरिकले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्‍याएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान स्पष्ट पार्दै त्यसमा कुनै पनि भ्रम नराख्न र त्यससम्बन्धी विषयलाई लिएर गलत प्रचार नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइएको पनि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले आफ्नो पार्टीको विदेश नीति र सम्बन्धमा कुनै अन्यौल र दुविधा नभएको पनि स्पष्ट पारेको छ । ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडा–पत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ । हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछ’, पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तपूर्ण बाटोबाट समाधान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।’

उहाँले सचिवालय बैठकले पार्टी ‘विश्वशान्ति, समझदारी र समृद्धि’को पक्षमा रहेकोे पनि स्पष्ट पारेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।