एनसेलको करछली विरुद्ध चितवनमा प्रदर्शन

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २१, २०७५

चितवन/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कर छली गरेको भन्दै चितवनको भरतपुरमा प्रदर्शन गरेको छ ।

भरतपुरको चौबिसकोठीमा भएको विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश लामिछानेले सरकार विदेशी कम्पनीसँग निरीह भएर बसेको आरोप लगाए ।

७२ अर्ब कर छल्दा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै उनले सरकारको कडा आलोचना गरे ।

नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुको साटो सरकारले विदेशी कम्पनीलाई हावी हुने मौका दिएको भन्दै उनले आक्रोश व्यक्त गरेका उनले पक्राउ परेका आफ्ना नेता नरेन्द्र विश्वकर्माको तत्काल रिहाइको माग समेत गरेका छन् ।

उता, क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बद्री अधिकारीले एनसेलले समयमै कर नबुझाए देशभर रहेका उसका टावरहरू ध्वस्त पारिने चेतावनी समेत दिए ।

विरोध कार्यक्रममा सहभागीहरूले एनसेल बहिस्कार गरौं, भ्रष्टचारको अन्त्य गरजस्ता नारा लगाएका थिए ।