राष्ट्रपति भण्डारीको चीन र अमेरिका भ्रमण

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २१, २०७५

काठमाडौं/ दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन् । सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने पनि कार्यक्रम छ । चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ ।

यस्तै राष्ट्रपति भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छन् । उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने छिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।