जनताको पहुँचमा पुर्याउने गरी जनउपयोगी चिकित्सा शिक्षा विधेयक ल्याइएको छ : उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

कावासोती– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहुँचमा पुर्याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताएका छन् ।

नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उनले डा।गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहुँचमा पुर्याउने हिसाबले के गर्दा उचित हुन्छ, त्यही हिसाबमा विधेयक ल्याइएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले विधेयकमा बृहत छलफल गरेर विगतमा विभिन्न समिति, कार्यदलले उल्लेख गरेका कुरालाई समेटेर विधेयक ल्याइएको बताए । ‘हामीले विगतमा यस समस्या समाधानका लागि गठन गरिएका सबै आयोग, कार्यदलका सबै प्रतिवेदन हेरेर त्यहा’ उल्लेख भएका कुरा, दिइएका सुझावलाई समेत मनन् गर्दै विधेयक ल्याएका छौँ’, उपप्रधानमन्त्री पोखरेलले भने, यसमा कसका कति प्रतिशत माग पूरा भए भएनन् भन्ने सान्दर्भिक छैनन् ।

यसैगरी उनले शान्ति प्रकियाका बाँकी कुरा टुङ्ग्याउनका लागि बनेका दुई आयोगको म्याद सकिन लागेको भन्दै यसलाई थप्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न यससँग सम्बन्धित कानूनहरु तयार हुने क्रममा रहेको उल्लेख गरे ।