प्रविधिमा नेपालले निकै ठूलो फड्को मारेको प्रधानमन्त्रीको भनाई

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

काठमाण्डौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले देश डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन ९एचडी० रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताउनुभयो । उहाँले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।”

नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उहाँले टेलिभिजनको सुरुआतसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गर्नुभयो ।

चारवटै च्यानल एचडीमा
नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर बिहीबारदेखि एकै पटक एचडी प्रविधिमा रुपान्तरण भएको हो ।

विकासका लागि सञ्चारको नाराका साथ वि सं २०४१ मा नेपाली टेलिभिजनको इतिहासमै पहिलो नेपाल टेलिभिजन स्थापना भएको थियो । यो अहिले भूसतही माध्यमबाट ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ ।

उत्कृष्ट विज्ञापनदाता सम्मानित
विज्ञापन एजेन्सीतर्फ उत्कृष्ट कारोबार गर्ने मिडिया हब प्रा लि, कि एड्भर्डटाइजिङ सर्भिस प्रालि र एस्पो मिडिया प्रालिका प्रतिनिधिलाई सञ्चारमन्त्री बाँस्कोटाले सम्मान प्रदान गर्नुभयो । यसैगरी हास्य शृखंलाका कलाकार मरीचमान श्रेष्ठ, राजु पौडेल, दमन रुपाखेतीलगायत कलाकारलाई सम्मान गरियो ।

टेलिभिजनको पहिलो प्रतीक चिह्न बनाउने दीपककुमार जोशीलाई र लामो समयसम्म चलेको कार्यक्रम विम्ब प्रतिविम्बका सञ्चालक गोपाल थापालाई पनि सम्मान गरियो । त्यस्तै नौ स्थानीय समाचारदाता र दीर्घ सेवा २८ जनालाई पुरस्कार घोषणा गरियो ।