संसदीय विचलनको भासमा कांग्रेस, ‘बाहुबली’ शैलीमा संसदमा प्रस्तुत

प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

काठमाडौं/ कांग्रेस लामो प्रजातान्त्रिक अभ्यास गरेको संसदीय दल भनेर बुझिन्छ । तर कांग्रेसका पछिल्ला क्रियाकलापले कांग्रेसमा गम्भीर संसदीय विचलन आएको देखिएको छ । कांग्रेस पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवा आएपछि कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भयो । जनमतमा पराजित भएको कांग्रेसले सत्तासुविधाबाट वञ्चित हुनुपरेको छ । कार्यपालिकामा मात्रै होइन, कांग्रेस व्यवस्थापिकामा पनि अल्पमतमा छ ।

कार्यपालिकाबाट पूरै वञ्चित र व्यवस्थापिकामा अल्पमतमा रहेको कांग्रेससामु संसदमा सामान्य आवाज उठाउनुबाहेक विशेष हैसियत छैन । आमनिर्वाचनले नेता चुन्ने र संसदको बहुमतले कानून बनाउने प्रणाली नै संसदीय सर्वोच्चता हो । संसदीय सर्वोच्चताले संविधान संशोधनको अधिकार समेत राख्छ । तर अल्पमतमा रहेको कांग्रेस संसदीय सर्वोच्चतालाई नै चुनौती दिन खोज्दै ‘बाहुबली’ पारामा उत्रिनु चाहिँ अनौठो परिदृश्य देखिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत भएदेखि नै कांग्रेसले बाहुबली शैली देखाइरहेको छ । कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालको विषयलाई बहाना बनाएर कांग्रेसले बलजफ्ती कानून निर्माण प्रक्रियामा तगारो खडा गर्ने प्रयत्न गरिरहेको छ । कांग्रेसको जायज मागलाई सम्बोधन गर्दै सरकारले कांग्रेस नेताका नाममा रहेका अस्पताललाई खारेज नगर्ने प्रतिवद्धता जनाइसकेको छ ।

अस्पतालको बहाना देखाउँदै कांग्रेसले संसदको बहुमतलाई बन्धक बनाउने र कानून निर्र्माण प्रक्रिया नै अवरुद्ध गर्न खोजेको देखिएको छ । तर कांग्रेसको बलजफ्तीका बाबजुद प्रतिनिधिसभा बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएर राष्ट्रिय सभामा पुगेको छ । कांग्रेसको विरोधबीच राष्ट्रिय सभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश भएको छ । विधेयक पेश गर्दा कांग्रेसले प्रतिनिधि सभामा देखाएकोझैं शैली राष्ट्रिय सभामा पनि देखाएको छ । राष्ट्रिय सभामा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय तोकिएको छ ।

कांग्रेसले संसदमा विधेयकमाथि सौहार्द छलफल गर्ने, संशोधन दर्ता गर्ने, वैधानिक तरिकाले फरक मत राख्ने लगायतका लोकतान्त्रिक विधि अपनाएको छैन । कांग्रेसको एउटै नीति देखिन्छ – संसदमा अवरोध खडा गरेर कानून निर्माण प्रक्रिया अवरुद्ध गर्ने र बहुमत सांसदलाई अनिर्णयको बन्दी बनाउने । कांग्रेसले देखाइरहेको यस्तो चरित्र लोकतान्त्रिक संस्कार विपरीत छ । कांग्रेसले वर्षौदेखि भन्ने गरेको प्रजातान्त्रिक चरित्र एउटै निर्वाचनमा पराजित हुँदा स्खलित भएको हो रु कि पूर्वराजा ज्ञानेन्द्र शाहसँग घाँटी जोडेर प्रजातन्त्र मास्न खोज्ने शेरबहादुर देउवा नेतृत्वमा भएकाले कांग्रेसले लोकतन्त्र बिर्सिएको हो रु यस्ता गम्भीर प्रश्नसँगै कांग्रेस खुकुरीको धारमा यात्रा गरिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमवारको राष्ट्रियसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्दा कांग्रेस सांसद शान्तसँग बस्न सकेनन् । लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्दै कांग्रेस सांसदले बलजफ्ती होहल्ला गरिरहे । तर पनि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कारवाही प्रक्रिया रोकेनन् ।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले मन्त्री पोखरेलको प्रस्तावमाथि छलफल शुरू भएको घोषणा गर्दै विधेयकको सैद्धान्तिक पक्षमाथि मात्रै छलफल हुने र त्यसमा सहभागी हुन चाहने सदस्यलाई नाम टिपाउन आग्रह गरेका थिए । कांग्रेस सांसदको नाराबाजीबीच कुनै पनि सदस्यले नाम नटिपाएपछि छलफल समाप्त भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्षले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरे र सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय दिइएको उनले बैठकमा जानकारी दिए ।

कांग्रेसले अझै पनि संसद बैठकमा सौहार्दता नदेखाउने जनाउ दिएको छ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले संसद अवरोध गर्दा पनि प्रक्रिया नरोकिएकाले बाँकी प्रतिक्रियामा पनि भाग नलिने बताए । संसदमा बलजफ्ती गर्न नसकेपछि कांग्रेसले अहिले सडक प्रदर्शन समेत गरिरहेको छ । कांग्रेसले लोकतान्त्रिक चरित्र बिर्सिएपनि सत्तापक्ष भने सहमति गरेर अगाडि बढ्न तयार देखिएको छ । राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सहमतिबाट अघि बढ्न सकिने बताए । ‘राष्ट्रियसभा छलफल गर्न र आवश्यक संशोधन पनि हाल्न सकिने ठाउँ हो । सहमति गरेर अगाडि बढ्न सकिन्छ ।’ राष्ट्रियसभा आगामी बैठक बिहीबार बोलाइएको छ ।

काठमाडौं पाटीबाट