स्वदेशमा सिप सिकेर बिदेश पलायन हुने परिपाटी अन्त्य गर्नु पर्छ : मन्त्री जमरकट्टेल

प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५

प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले देशमा सिप सिकेर विदेश पलायन हुने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १७ औं साधारण सभाको आज नारायणगढमा उद्घाटन गर्दै मन्त्री जम्मरकट्टेलले देशका दक्ष जनशक्तिले देशभित्रै सिप सिकेर काम गर्नुपर्ने बताउनुभयो ।            प्रदेश सरकारले स्थानिय तहका प्रत्येक वडाका २ जना युवालाई ब्यवस्थित रुपमा तालिमको ब्यवस्था गर्दैछ, मन्त्री जम्मरकट्टेलले भन्नुभयो’, तालिम प्राप्त ब्यक्तिले पाँच बर्ष गाँउपालिकाको जागिर खाएर नागरिकलाई सिपमुलक तालिम प्रदान गर्नेछ ।

मन्त्री जम्मरकट्टेलले हरेक काम ढिला गर्ने परिपाटी र पुरानो चालचलन फेर्न जरुरी रहेको बताउनुभयो ।

विदेशबाट आउने दाजुभाईलाई सिप प्रमाणिकरण गर्नुहोस भन्दा हिचकिच्याइरहनुभएको छ,उहाँले भन्नुभयो,विदेश गएको प्रमाणपत्र छ तर सिप छैन् ।

उहाँले विदेशवाट फर्केका युवालाई सरकारले दिने भनेको पैसा सदुपयोग गर्न सिप प्रमाणिकरण जरुरी रहेको बताउनुभयो ।

बिश्वले उत्कृष्ट भनेको संविधान र राज्यब्यवस्था सुदृढ गर्न र यसका राम्रा पक्षलाई जनतासम्म लैजान सबैको साथ आवश्यक रहेको मन्त्री जम्मरकट्टेलको भनाई छ ।

सबैको रगत र पसिनाले ल्याएको ब्यवस्था भएका कारण यसमा सबैको अपनत्व आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुशासन र आर्थिक संमृद्धीको दिसामा सरकार अघि बढेको भन्दै उहाँले हरेक पेसा ब्यवसायलाई निर्वाहामुखी नभई ब्यवसायमुखी बनाउनुपर्ने तर्क गर्नुभयो ।

कपडा तथा सिलाई ब्यवसायीले देशभित्रै ठुलो जनशक्तीलाई रोजगार प्रदान गरेको भन्दै उहाँले ब्यवासयमा देखिएका समस्या समाधानमा प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी,कृष्ण खनाल, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल लगाएतले बोल्नुभएको थियो ।

शनिवारसम्म चल्ने साधारणसभामा देशभरका ४ सय ५० जना प्रतिनिधीको सहभागीता रहेको छ ।

साधारण सभाले संघको विधान संसोधन गर्दै नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ लाई महासंघ बनाउँदैछ ।