अन्तिम इच्छा

कविता

द्वारिका छेत्री । प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

आकाशभन्दा माथी
धर्ती भन्दा पर
कल्पना पारिको देशमा
तिम्रो मनको घरेडीमा
सप्तरंगी सपनाहरुले भित्ता सजिएको
अनि होस, छानो जुन-ताराहरुले जडिएको
अनि छेउमा बहोस मस्त संगितमय छहरा
जहाँ अप्सराहरु बनुन हाम्रो सेविका
अनि स्वयं ईश्वर बनोस त्यहाको रखवाला ।
जहाँ, प्रेमको शितलता होस हावामा ।
मेरो मनको मुलायम बाटो भइ पुगिन्छ जहाँ
त्यहाँ, हो त्यही ……..
कल्पनाको संसारमा
केवल तिमी अनि म अटाउँने
सुन्दर, सानो घर चाहिन्न मलाई
सुन्यौ ……..
मलाई त यथार्थको घरातलमा
ढुंगा र माटोले निर्मित
मेरो रहर जस्तै सुन्दर
तिम्रो बिस्वास जतिकै बलियो
आफ्नै देशमा, आफ्नै भूमिमा
आफ्नै कीपटमा
एउटा आफ्नै घरेडी चाहिएको छ
जहाँ हावा, पानी, घाम अनि
हिंस्रक जनावरको भयदेखि
सुरक्षित होस हाम्रो भावी पिडी ।
छल-कपट, भाईबन्दी, राजनैनिक हस्तक्षेपदेखि
पूूूरा सुरक्षित होस उनिहरुको भविष्य
जहाँको हावामा सद्भावना होस
भाइबन्दी होइन, भाइचारा होस सबको मनमा
जहाँ, साँचो बोल्नेको कदर होस
जहाँ, व्यापार होइन शिक्षा
घर, समाज र देश बनाउने आधार होस
जहाँ, हाम्रा युवा-युवतीहरु
मद् मदिर, ड्रग्स गाँजा, अफिमको शिकार होइन
देशको कर्णधार बनोस ।
जहाँ, राजनेता कसैको हातको कठ्पुतली होइन
जनताहित चिताउने, भलो गर्ने
देशको उन्नतिमा हात बडाउने कर्मठ् अवतार होस
बस, बाँचुञ्जेल
आफ्नै किपटमा एउटा सानो घरेडी होस
अनि मृत्युु पश्चात् विश्राम गर्न
आफ्नै माटोमा आफ्नै चिहानघारि होस ।।

द्वारिका छेत्री
खर्साङ्ग, दार्जीलिङ