उपराष्ट्रपति नन्दबहादुर पुन सँग, राजदूत हाउ याङछीले शिष्टाचार भेट

प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गरेकी छन् । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत याङछीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा चीनका उपराष्ट्रपतिले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले उपराष्ट्रपतिलाई हस्तान्तरण गरिन् । भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताए ।

उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताए । उनले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,’ उनले भने, ‘चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ ।

नेपाल पनि आफ्नो भूमिमा चीनविरोधी क्रियाकलाप हुन दिने छैन ।’ उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए । उनले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको भनाई राखे ।

उपराष्ट्रपतिले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताए । ‘हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ । रेलवेद्वारा जोडिन चाहन्छौँ’, उनले भने, ‘हामी कम्तिमा ७ वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ ।

हामी विकासको लागि भौतिक पूर्वाधारहरु निर्माण गर्न चाहन्छौँ ।’ उपराष्ट्रपतिले सन् २०१९ मा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै चिनियाँ लगानीकर्ताहरु नेपाल आउने विश्वास व्यक्त गरे ।

उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि चीन सरकारले प्रोत्साहन गरिदिनुपर्ने बताए । ‘२०१९ मा हामीले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेका छौँ ।

चीनबाट गतिला लगानीकर्ताहरु आएको हेर्न चाहन्छौँ’, उनले भने, ‘२०२० नेपाल भ्रमण वर्ष हो । यसलाई सफल पार्न धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्ति चीन सरकारले प्रोत्साहन गरिदिनु पर्यो ।’ उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताइन् ।

उनले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको जनाइन् । ‘नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ । अरु देशमा यति सहज हुँदैन’, उनले भनिन्, ‘हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ । राजदूत याङछीले अग्रजले स्थापना गरेका दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने आफ्नो निरन्तर प्रयास हुने जिकिर गरिन् ।

उनले नेपालको स्वतन्त्रता, विकास र समृद्धिमा चीनको सदैव समर्थन र साथ सहयोग हुने विश्वास व्यक्त गरिन् । उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालको विकास र समृद्धिमा सकेको योगदान गर्ने समेत बताइन् ।

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै उनले भनिन, ‘नेपाल सांस्कृतिक रुपमा विश्व सम्पदामा सुचीकृत रहेको, बुद्धको जन्मस्थल यहीं रहेको र संसारको सर्वोच्च शिखर सगरमाथा यहीं रहेकाले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य हो ।’ राजदूत याङछीले आफ्नो कार्यकालमा दुई देशबीचको हवाई उडान थप गर्न चाहेको सुनाइन् ।

उनले चीनमा विकास भइरहेको प्रविधिले नेपालको विकासलाई सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । केही वर्षयता चीनमा नयाँ प्रविधिको विकास भइरहेका छन् । ‘माओले भन्नुभएको छ, मानिसको क्षमता भगवानको भन्दा बढी हुन सक्दछ’, उनले भनिन्, ‘अब हामीबीच प्रविधि र तालिमको आदानप्रदान, युवाहरुको आदानप्रदान हुनुपर्दछ ।