जलेको पहाड

कविता

स्वर्णिम गुरुङ  । प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

जातीको गौरव जिउँदो राख्न,
पुर्खाले रोपेको मुक्तिको बीउ हो है
गोर्खेभूमिलाई नाम दिने प्रण गरेर ।
बर्षौं देखि दासत्वको बन्धनमा
धुजा धुजा भईसकेका आत्मबल,
क्षीण भएका मनोबलहरू जुरमुराई उठे
छुट्टै राज्य गोर्खाल्यान्डको माँगमा,
हिंसाको ताण्डव मच्चाउदै
आन्दोलनको बीभत्स रूप देखाउदै ।

उन्मुक्तिको उत्कण्ठाले
मुक्तिको नारा लगाउदै
सरकार विरुद्ध..
आवाजहरू चर्किन थाल्यो।
आक्रोशित आवाजहरुले
गगन भेदिन थाल्यो
छुट्टै राज्य र जातीय चिन्हारीको महत्त्व
बुझ्नेले बुझेकै थिए नबुझेकाले बुझ्न थाले ।

गाँन्धीवादी आन्दोलनको शुरुआत भयो,
सभा डाकियो गाउँ घर, शहर बजारमा
हरियो झण्डा देखिन् थाल्यो,
विध्यालय बन्द, कलेज बन्द
हडताल र नाराहरुले
दिन दिनै पहाड अशान्त बनिन थाल्यो ।

सरकारको दमननिति शुरु भो
भाइ-भाईमा फुट ल्याउने कुटनिति शुरु भो,
हरियो र रातो झण्डा बिच
द्वन्द मच्चिनु थाल्यो ।
आफ्नै दाज्यु भाइ बिच युद्ध छेडिन् थाल्यो

ध्वँसको ताण्डव मच्चियो
कमान बस्तीमा घरहरू जलाउन् थाल्यो ।

वैचारिक मदभेद शुरु भयो
नेताहरू गुट गुटमा बाँडिए,
कोही हिंसावादी भए
कोही अहिंसावादी भए ।
घर जलाए, आफ्नै जाति भाइ काटे
काटिएको मुण्टोहरू
बजारको चोकमा झुन्डिएको देखिन थाल्यो ।

सरकारको दमननिति बडन् थाल्यो
घर्याप घर्याप बुटका आवाजहरू
पहाडको छातीमा बज्रिन् थाल्यो ।
हिंसा, लुटपाट र बलात्कारको नाँगो नाँचले
पहाड असहाय बनी छटपटाउन थाल्यो ।
नरसंहार शुरु भयो,
क्षत विक्षप्त लाशहरू सडकमा तेर्सिन थाल्यो

जलियाँवाला वागको कालो इतिहास
कालेबुङको मेन रोडमा फेरि दोहोरियो ।

हिंसाले पहाड रक्ताम्य बन्यो
कति आमा विक्षिप्त बनिन,
कति सिंदुर पुछिए, कति टुहुरा टुहुरी भए
कति ज्यान बेपता भए ।
सहिदको नामांकन सुचिमा
सहिदको नाम लेखिन्दै गए ।
यति सब भएर पनि…
आन्दोलन लक्ष्यमा पुग्दा नपुग्दै
अलग राज्य गोर्खाल्यान्डको माँग
दागोपापमा आई समेटियो ।
आखिर कसका निम्ति सहिद भए
ती ज्यानहरु ?
के का निम्ति भए ती नरसंहार ?
त्यसताक कलिला मष्तिष्कमा
यी अनुत्तरित प्रश्नहरू थिए
जो यथावत नै छ,
त्यो भीषण त्रासको वातावरण
भयका दिन रातका सम्झना
मन माष्तिष्कमा अझै
आलै.. आलै.. आलै.. छ ।

कवियत्री गुरुङको छोटो परिचय

कवियत्री स्वर्णिम गुरुङ मुलत सिक्किम र कालेबुङमा बस्नुहुन्छ । उहाँ पेशाले शिक्षण पेशामा आवद्ध हुनुहुन्छ र लामो समयसम्म धरानमा पनि प्राध्यापन गराउनु भएको उहाँले बताउँनु भएको छ । निजी क्षेत्रको विद्यालयमा शिक्षकहरुको बढि शोषण हुने गरेको तितो अनुभव पनि यो स्तम्भकारलाई बताउँदै कहिले अन्त्य होला भनि यक्ष प्रश्न तेस्र्याउनु भएको छ । उहाँले लेखन कार्यको शुरुवात नै गीत लेखनबाट गर्नुभयो । चर्चित पाश्र्व गायक तथा नेपाली सिने जगतका चर्चित गायक थुप्तेन भुटियाको एलबम हरपलमा “सम्बोधन गरुँ तिमीलाई कसरी, सम्बन्ध जब तोडि दियौ”गुरुङको पहिलो गीत हो । यो गीत १९९६ तिर रेकर्ड गरिएको थियो भने त्यसपछि अरु दुई वटा गीति एलबम पनि आईसकेको छ । अर्को एउटा गीत छिट्टै रेकर्डिङ हुने तरखरमा रहेको छ । “छिटफुट कविताहरु सानैदेखी लेखेको भएपनि पुस्तकारमा प्रकाशन गरेको छैन । पहिलो कविता अक्कर पुल हो, सिक्किमबाट प्रकाशन हुने आज भोली साप्ताहिक नामक साप्ताहिक पत्रिकामा पनि प्रकाशित हुनेगरेको छ । चाँजोपाँजो मिलेको खण्डमा यो वर्ष कविता संग्रह प्रकाशन गर्ने पक्षमा छु भन्नु हुन्छ ।”

कम्युनिष्ट अनलाईनमा उहाँको आधा दर्जन जति कविताहरु प्रकाशनमा आईसकेका छन् । गुरुङ परिवर्तनको पक्षधर कवि हुनुहुन्छ । संघर्ष र आन्दोलनबिना समाज परिवर्तन हुँदैन । गोरखा जातिले गोरखा ल्याण्ड नमागेर अरु त माग्नै सक्तैनन भन्ने कुरामा ढुक्कका साथ भन्नुहुन्छ । नेपालले हामीलाई सहानुभूति पनि खुलेर दिएन भन्ने गुनासो पनि गुरुङले राख्नु भएको छ ।