डा. केसी फेरि अनसन बस्ने, सरकारले सम्झौता अनुसार माग पूरा नगरेको आरोप

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

काठमाडौं/ शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले फेरि पनि सरकारले आफूहरुलाई धोका दिएको बताएका छन् । उनले १५ औँ अनशनका बेलामा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका दिएर शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पास गरेको बताएका छन् ।

बुधबार विहान बसेको समितिको बैठकमा चिकित्सा शिक्षा विधेयक बहुमतले पास भएको हो । ‘हामी जनताका लागि लडेका छौं, ओली प्रचण्डले माफियाका लागि ऐन बनाएका छन्,’ केसीले प्रतिक्रिया दिएका छन्, ‘अब फेरि लड्छु ।’ केसीले आफू बुधबार दिउँसो ४ बजेदेखि नै अनशन बस्ने जानकारी गराएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा गोविन्द केसीसँग भएका सहमति विपरित निर्णय भएको छ । सरकारले सहमति बमोजिम विधेयक प्रस्तुत गरेको भएपनि शिक्षा समितिमा सहमति विपरित विधेयकलाई परिमार्जन गरिएको छ । अब संसदबाट विधेयकले अन्तिम रुप पाउने छ ।

थाहा खबरबाट