एक महिनापछि सुरु हुने भयो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

सरकारले १ महिना भित्रै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । बेरोजगार युवालाई नेपालमा नै रोजगारीको सृजना गर्ने उद्देश्यसहित सरकारले वार्षिक नीति तथा कार्यक्रममा नै समेटेर सो कार्यक्रम सुरु गर्न लागेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले त्यसका लागी मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सेवा केन्द्रका लागि अधिकृत छनोट प्रक्रिया सुरु हुनासाथ प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

केन्द्रले बेरोजगारको तथ्यङक संकलनसँंगै सीपको विवरण राखी बेरोजगार युवाको संख्या र उनीहरुको सीपबारेको विवरण सरकारलाई उपलब्ध गराउनेछ । त्यसैको आधारमा रोजगार उपलब्ध गराउने र अदक्ष युवालाई निर्बाहभत्ता उपलब्ध गराईने मन्त्री बिष्टले बताउनुभयो । रोजगार कार्यक्रम सञ्चालन गर्न नियमावली पास भइसकेको तथा निर्देशिका बन्ने क्रममा रहेकाले औपचारिक घोषणा भने १ महिनापछि मात्र हुने मन्त्रालयको भनाई छ । बर्षेनी कामका लागि बिदेशीने युवा तथा सीप र दक्षता भएकालाई स्वदेशमै रोजगार उपलब्ध गराउने सरकारी नितिलाई व्यवहारिक कार्यान्वयनका लागी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको हो । त्यसका लागि विभिन्न सरोकारवाला तथा विज्ञसँग सुझाव संकलन भईरहेको मन्त्री बिष्टको भनाई छ ।

विज्ञहरुबाट आएका सुझावलाई पनि समेटेर निर्देशिका तयार पार्ने मन्त्रालयले जनाएको छ । स्वदेशमा पर्याप्त रोजगारको अवसर नपाएपछि झण्डै ४० लाखको हाराहारीमा नेपालका युवा वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुक पुगेका छन् ।