यसरी मेटिँदैछ ‘जंगलका राजा’ मानिएका राउटेको ऐतिहासिक पहिचान र संस्कृति

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

सुर्खेत/ लोपोन्मुख फिरन्ते राउटे (जंगलका राजा) बिस्तारै आधुनिकतातर्फ ढल्किँदै गएका छन् । पछिल्लो समय उनीहरू दैलेखदेखि सुर्खेतमा बसाई झरेपछि थप आधुनिकतातर्फ तानिँदै गएका छन्। पहिले काठका भाडासँग अन्न साटेर र जङ्गलमा सिकार खेलेर जीविका चलाउँदै आएका थिए। पछिल्लो समय राउटेले आफ्नो काम र पेसा छाडिसकेका छन्। बजारका खाद्यान्न किनेर खान थालेका छन् भने सबैसँग घुलमिल हुन थालेका छन्।

सरकारले समेत उनीहरूलाई अन्य नागरिक जस्तै जिउन प्रेरित गरेको छ। सरकार मात्रै नभएर विभिन्न एनजीओरआइएनजीओ समेत लागि परेका छन्।

भर्खर प्रदेश सरकारले राउटेलाई अन्य नागरिक सरह जीवनयापन सिकाउने र जंगलबाट फर्काउने भन्दै पहिलो चरणमा सुर्खेतको लेकबेशी नगरपालिकास्थित राउटे बस्तीमा पुगेर राउटेलाई कोट लगाइदिएको छ।

सिलाएको कपडा नलगाउने राउटेलाई सिलाएको कोट लगाइदिएका छन्। उनीहरू प्रायः नसिलाएको सेता कपडा (गादा) त्यत्तिकै लगाउने गर्छन्। पहिलोपटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटेलाई घरमा ल्याउने र अन्य नागरिक सरह जीवनयापन सिकाउने उद्देश्यले कोट लगाइदिएको मन्त्रालयका सचिव मानबहादुर बिकेले बताए।

‘अब राउटेलाई जंगलबाट बिस्तारै घर फर्काउनका लागि हामीले पहिलोपटक राउटे बस्तीमै गएर कोट लगाइदिएका छौँ’, उनले भने, ‘यसरी उनीहरू घरविहीन भएर बस्दा विभिन्न समस्या देखिन्छ। त्यसो भएर पनि सरकारले राउटेका लागि राम्रोसँग बाँच्न पाउने गरी काम सुरु गरेको छ।’

पैसाप्रतिको मोह
पैसा छुन हुँदैन पाप लाग्छ भन्ने राउटे अहिले पैसा बिना चल्दैनन्। उनीहरू आफ्नो काठबाट बनाइएका भाँडा त के फोटो खिच्न समेत पैसा माग्छन्। उनीहरू कसैसँग कुरा गर्दा र कसैले फोटो खिचे पचासरएक सय रुपैयाँसम्म रकम माग्छन्।

राउटे आफ्नो सिपबाट निर्मित सामग्री निर्माण नगरेर पैसाका भरमा जीविका चलाउँदै आएका छन्। चामल, पिठो, नुन, तेल दाल लगायतका सामग्री किन्छन् भने साना बालबालिकादेखि वृद्ध राउटेहरू दैनिक मदिरा छुटाउँदैनन्। कसैले दिएको पैसा समेत घरेलु मदिरामा सक्छन्।

मदिरा बिना प्रायः उनीहरू खाली बस्दैनन्। जसले गर्दा पनि राउटे कुलतमा फस्ने गर्छन्। उनीहरूलाई घरेलु रक्सी र सुर्ती बिना चल्दैनन्।

राउटेको पहिचान हराउँदै
लोपोन्मुख राउटे जातिको छुट्टै पहिचान छ। दिनहुँ लगाएर राउटेकै बस्तीमा पुग्थे कतिपय। उनीहरूलाई हेर्नकै लागि कतिपय पर्यटक समेत मोहित हुन्थे। उनीहरूको लगाएको कपडा, बोली, भाषा लगायतले लोभिन्थे सबै।

देश विदेशमा उनीहरूको जंगलका राजा हुन् भनेर पहिचान छ। तर, पछिल्लो समय राउटेको पहिचान हराउँदै गएको छ। उनीहरूको पहिचान र अस्तित्व मेटिँदै गएको छ।

पछिल्लो समय उनीहरूले करिब(करिब काठका भाँडा बनाउन छोडिसकेका छन् भने, अन्य रहनसहन समेत मेटिँदै गएकोमा चिन्ता व्यक्त गर्छन् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्मा। ‘राउटेको अलग्गै पहिचान छ। उनीहरू जंगलमै रमाउन चाहन्छन्’, उनले भने, ‘राउटेलाई आवश्यक सहयोग गर्दै अहिले भएको पहिचान नमेटिने गरी काम गर्नुपर्छ। पहिचानै मेटियो भने त राउटे जाति सकिने त्यसै भयो।’

आजभोलि राउटेले बनाएका मधुस, कोसी लगायतका सामग्री समेत पाउनै मुस्किल हुन्छ। राउटेको छुट्टै पहिचान हुँदा थप आकर्षणको केन्द्र बिन्दुका रूपमा थिए। सम्भवतः यही गतिमा उनीहरूलाई जंगलबाट घरमा बसाउन थाले राउटे छैनन् भन्ने अवस्था नआउला भन्न सकिन्न ।

काठका सामग्री पाउनै मुस्किल
राउटेले बनाउने काठका सामग्री पाउन मुस्किल छ। राउटेले काठबाट कौसी, मधुस, सिलौटो, पिर्का, ओखल जस्ता सामग्री बनाउँदै आएका छन्। बन्ने यिनै सामग्री अहिले कोही कसैले बनाउन छोडिसकेका छन्। एकातिर काठ पाउन नसकेर बन्न सकेका छैनन् भने अर्कोतर्फ शहरका भाडाले बजार पाएपछि पाउन मुस्किल भएको छ।

‘काठ पाउनै छोड्यो’, मुखिया सूर्यनारायण शाहीले भने, ‘धौ-धौ पाएको काठबाट बनाएका मधुस, कोसी पनि बिक्दैनन्।’

एनले फेरि थपे, ‘त्यसो भएर पनि हामीले धेरै बनाउँदैनौँ।’

२/४ वर्षअघि कर्णालीमा राउटे करिब पाँच सयको हाराहारीमा थिए भने अहिले डेढ सयको सङ्ख्यामा मात्रै छन्। कर्णालीको सल्यान, सुर्खेत, दैलेख र सुदूरपश्चिमको अछाममा समेत उनीहरू बसोबास गर्दै आएका छन्।

चिन्ता र चासो उत्तिकै
कर्णालीमा भएका राउटेलाई आधुनिकतामा ल्याउने नाममा उनीहरूको अस्तित्व मेटिन थालेको भन्दै चिन्ता र चासो व्यक्त गर्न थालेका छन्। कतिपयले सामाजिक सञ्जालमार्फत चर्को विरोध समेत गरेका छन्। एक मात्र लोपोन्मुख जाति राउटेलाई उनीहरूकै रहनसहन र परम्परागत शैलीमा रमाउन दिनुपर्ने धेरैको जोड छ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले राउटेको अस्तित्व मेट्न नखोजेको बताए। रावलले उनीहरूको मानव अधिकारको प्रत्याभूत सरकारले गरेको बताए।

‘राउटेको पहिचान जोगाउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो’, उनले भने, ‘मानव अधिकार प्रत्याभूत गर्नुपर्ने जरुरी देखिन्छ। त्यसो भएर पनि हामीले सामान्य गाँस, बाँस र कपासमा ध्यान दिनुपर्छ भनेर लागेका छौँ।’

रावलले राउटेको स्वास्थ्य, शिक्षा लगायतका विषयमा सुधारको खाँचो रहेको बताए।

पहिलोपोष्टबाट