पुस्तक समीक्षाः लेखिका सितादेवी क्षेत्रीको मूल परेको छोरोलाई नियाल्दा

मोहन अधिकारी । प्रकाशित मिति : आइतवार, पुस २२, २०७५

गतसाल मात्रै एउटै धरामा कवितासंग्रह लिएर पुर्वोत्तर भारत मणिपुरबाट नेपाली साहित्य जगतमा उभिनुभएकी कवियत्री सितादेवी क्षेत्रीले एकवर्ष नबित्दै सामाजिक परिवेशको यथार्थ घटनाहरूलाई टपक्क टिपेर अति नै सरल, सरस र स्वभाविक ढंगले प्रस्तुत गर्दै ‘मूल परेको छोरो’ नामक एक शशक्त कथाहरूको संगालो नेपाली साहित्य भण्डारमा थपिदिनुभएको छ।

वहाँका कथाहरू पढ्दा हाम्रैआँखा अगाडि घटनाहरूको झझल्को आउने, कतै मनै कुटुक्क दुखेर आउने, कतै आँखाहरू रसाउने स्वभाविक घटनाहरू, स्वभाविक कथनहरू, मानविय स्वभावजन्य आवेग, आक्रोश, मायाँ ममता, सामाजिक मर्यादा, पारिवारिक दायित्व यी सबैकुराको तारतम्य अति मिठोगरि कथामा पात्रहरूद्वारा पालन भएकाछन । अन्तर द्वन्द हरेक पात्रहरूविच यति स्वभाविक छ कँहीकतै बनावटी कृत्रिमता लादिएको छैन सबै सहज छन, स्वभाविक छन ।

वहाँ स्वयं एउटी नारी भएको नाताले कथामा नारी संवेदना अति मनोवैज्ञानिक रुपले चित्रण हुनु स्वभाविक हुनसक्छ । तर, वहाँले पुरूष मनोविज्ञानलाई पनि उत्तिकै सशक्त रूपमा उतार्नुभएको छ ।

वहाँले सामाजिक अंधविश्वास, कुरितिमाथि सत्यको विजय देखाएर एक प्रगतिशिल विचारधारा बोकेकी कथाकारको रूपमा पनि वहाँले आफुलाई उभ्याउन सफल हुनुभएको देखिन्छ ।

वहाँका हरेक कथाले केही न केही नया नौलो संदेश दिएका छन, पढदा पटक्कै पट्यार नलाग्ने बरू आफुपनि वहाँका पात्रसँगै एकाकार भएर हराईने भएकोले वहाका कथा सफल, सरस र सशक्त छन ।

मणिपुरको माटोमा बसेर नेपाली साहित्य साधनामा लाग्नु र दार्जिलिंगमा बसेर नेपाली साहित्य साधनामा लाग्नुमा जति पहाडमा सुन्तला फलाउनु र मरूभुमीमा सुन्तला फलाउनुमा अन्तर छ त्यति नै अन्तरलाई छामेर मुल्यांकन गर्नुपर्दा वहाँलाई नेपाली साहित्य जगतकी एक सशक्त नारी हस्ताक्षरको रूपमा सम्मान जनाउँदा अत्युक्ति नहोला रु अन्त्यमा कथाकार सितादेवी क्षेत्रीको साहित्यिक कलम अझै खिपियोस, अझै बगोस !

–मोहन अधिकारी कोलावारी, चम्पासरी, सिलगढी निवासी हुनुहुन्छ । उहाँको विषेश लेखन क्षेत्र गद्य कविता, हाईकु, लघुकथा र साहित्य समीक्षा हो ।