१२ वर्षकी गंगा चेपाङले जन्माइन छोरी

प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् । शल्यक्रिया गरी जन्म दिएको शिशु २ केजी ९ सय ग्रामको रहेको छ । पछिल्लो पटक जिल्लामा अति कम उमेरमा सन्तान जन्माउने सम्भवत: उनी मात्र एक हुन् ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत मंसिर ४ गते गंगामायालाई घरवाट हेटौडा अस्पतालमा ल्याएर चेकजाँच गरेर मंसिर ५ गते सुरक्षित ढंगले सुत्केरी गराउन काठमाडाैं लगिएको थियो । उनको प्रसूति सेवामा लाग्ने र खानपानको खर्च प्रधानमन्त्री कार्यालयले बेहोरेको छ । उनको साथमा आमा राममाया छिन् ।

२०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो । १२ वर्षकै उमेरमा उनी गर्भवती भएको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सुरक्षित सुत्केरी सेवाका लागि पहल गरेको थियो । काठमाडाैं थापाथलीस्थित प्रसूति गृहका चिकित्सकहरूले बुधबार शल्यक्रिया गरेर सुरक्षित ढंगले प्रसूति गराएका थिए । शैक्षिक एवं आर्थिक रूपले पछाडि परेको चेपाङ बाहुल्य बस्ती र गाउँपालिकाका अधिकांश बासिन्दा निरक्षर छन् ।

चार कक्षामा अध्ययन गर्दागर्दै उनले छिमेकी गाउँको चेपाङ किशोरसँग प्रेम विवाह गरेकी थिइन् । बालविवाह, परिवार नियोजनबारे भ्रम, प्रजनन स्वास्थ्यका बारे अनविज्ञता, अनिच्छित गर्भधारण र सरसरफाइ र स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव तथा खाद्य असुरक्षाका कारण चेपाङ समुदायका महिला र बालबालिकाको अवस्था अत्यन्त नाजुक रहेको छ । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने कैलाश र राक्सिराङ गाउँपालिकामा बालविवाह व्याप्त छ ।