मेलम्ची खानेपाी आयोजना २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो: प्रधानमन्त्री ओली

प्रकाशित मिति : बिहिबार, पुस १९, २०७५

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना जापानी कारझैँ कुदिरहेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित फोहोरपानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना तीव्रताका साथ अघि बढिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दाबीसमेत गरे। ‘मेलम्ची खानेपानी आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो ।

यो वर्ष त्यसरी हिँड्न पाएन यसले तीव्रता पाएको छ’, प्रधानमन्त्रीले भने ‘अहिले मेलम्ची जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिँडेको छ । यसबीचमा तीव्र गति लिएको छ ।’ मेलम्ची आयोजना निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीले नै बाँकी काम गर्ने प्रधानमन्त्रीले बताए। ‘उनीहरू (कम्पनी)को पनि प्रतिबद्धता छ । कम्पनीको प्रतिष्ठाको कुरा पनि जोडिएको छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’, उनले भने । इटालियन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले मेलम्ची आयोजना तीव्र गतिमा अघि बढिरहेको दाबी गरे ।

मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने प्रधानमन्त्रीको दाबी थियो। ‘अहिले अन्योल देखिए पनि अन्योल मान्नुपर्ने त्यस्तो कुनै आवश्यकता छैन । जुनसुकनै अवस्थामा पनि यो आयोजना अगाडि बढाउँछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘समयभित्र यो अगाडि बढाउछौँ । हप्ता १५ दिनको तलमाथि होला आयोजना अगाडि बढ्छ ।’ प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना अगाडि बढ्ने कुरामा ढुक्क रहन आश्वस्त पारे ।