मापसे गरी सवारी चलाउने ४२३ सवारीचालकको अनुमतिपत्र खारेज

प्रकाशित मिति : बुधबार, पुस १८, २०७५

काठमाडौं/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी रक्सी पिएर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरेको छ ।

महाशाखाले पटक-पटक रक्सी पिएर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । २०६८ मंसिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मंसिर २२ गतेदेखि रक्सी पिएर सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । ‘खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ’, उहाँले भन्नुभयो, ‘दुर्घटना घटाउन र मापसे गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।’

आर्थिक वर्ष २०७०-७१ मा ५२, आव २०७१-७२ मा १२२, २०७२-७३ मा १३३, २०७३-७४ मा ४१, २०७४-७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।

उज्यालो अनलाइनबाट