सानोमा मन्द बुद्धिका आइन्सटाइन कसरी बने विश्व प्रसिद्ध वैज्ञानिक ?

प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५

संसारका सबैभन्दा चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनबारे सुन्दा वा पढ्दा पनि अचम्म लाग्न सक्छ– संसारले महान् भनी मानेका, विश्वप्रसिद्ध पत्रिका टाइमले बीसौं शताब्दी मानव नै घोषणा गरेका यी वैज्ञानिक भने सानोमा मन्दबुद्धिका थिए । कतिसम्म भने उनी तीन वर्षको हुँदासम्म पनि बोल्न जान्दैन थिए । सामान्यतः बालबालिकाहरुको बोली डेढ दुई वर्षदेखि आउन थाल्छ । तर उनको बोली तीन वर्षसम्म नआउँदा सबैले उनी लाटो पो हुन् कि ? भन्ने उनका आमाबुबालगायत सबैले सोचेका थिए । तर ढिलै भएपनि उनको बोली फुट्यो ।

आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थियो । यो जर्मनीको प्रसिद्ध सहर म्युनिखबाट ८५ माइल पश्चिममा पर्छ । उनका बुबाको नाम हरमन आइन्स्टाइन र आमाको नाम पाउलिन आइन्स्टाइन थियो । स्कुलमा आइन्स्टाइनको आनीबानी र स्वभाव अरु बच्चाहरुको भन्दा फरक थियो । उनी कम बोल्ने र एकान्तप्रेमी थिए । उनी यहुदी थिए, त्यसैले कक्षाका अरु साथी (विद्यार्थी)हरुले पनि उनलाई गिज्याउने, होच्याउने र खिसिट्युरी गर्ने गर्थे । शिक्षकले सोधेका प्रश्नहरुको पनि उनी हत्तपत्त जवाफ दिँदैनथे । त्यसैले शिक्षकहरुले उनलाई मन्दबुद्धिका भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड दिन्थे । त्यस्तो दण्ड दिने क्रममा शिक्षकले उनलाई एउटा चिसो हल कोठामा एक्लै घण्टौं राख्ने गर्थे । त्यसैले उनी कक्षाको उकुसमुकुस हुने वातावरणमा बस्न भन्दा दण्ड पाएर चिसो हलमा नै भएपनि दिन बिताउन रुचाउँथे ।

अरुले हेपे पनि, शिक्षकले मन्द बुद्धिको भनेर गाली गरे पछि स्कुलको जाँचमा भने आइन्स्टाइन राम्रो नम्बर ल्याएर पास हुन्थे । त्यसले गर्दा शुरुमा उनलाई हेप्ने शिक्षकहरु पनि चकित बन्थे । बिस्तारै उनी स्कुलकै राम्रो क्षमता भएको छात्रको रुपमा चिनिन थाले । आइन्स्टाइन विभिन्न नयाँ नयाँ कुराहरु सोच्न मन पराउँथे । एक पटक उनी बिरामी भए । उनका बुबाले उनलाई खेलाउनका लागि दिशा देखाउने कम्पास दिए । उनका बुबाले आइन्स्टाइनलाई कम्पासको टुप्पोले सधैं उत्तर दिशातिर मात्र देखाउँछ भनी बताए । त्यो सुनेर जिज्ञासु आइन्स्टाइन तीनछक्क परे । उनका बुबाले चुम्बकको शक्तिले कम्पासको सियोलाई उत्तरतिर तान्ने गरेको जानकारी दिए । यही घटनाले उनमा विज्ञानको भोक जगायो ।

वास्तवमा, सानोमा उनका बुबाले दिएको कम्पासले उत्तर देखाउने कुरा उनका लागि एउटा पहेली जस्तै थियो । त्यसै कुराले उनको ध्यान विज्ञानतिर तान्यो । उनी ब्रम्हाण्डको रहस्य खोतल्न र थाहा पाउन चाहन्थे । उनले देखावटी रुपमा हल्काढंगले किताबहरु पढेनन् । उनी किताबमा डुबेर पढे । फलतः उनले विज्ञानको क्षेत्रमा क्रान्ति नै साबित भएको सापेक्षतावादको सिद्धान्त पत्ता लगाउन सफल भए । सापेक्षतावादको सिद्धान्त खोज्ने क्रममा उनले प्रकाशको गति कति हुन्छ भन्ने कुरा पनि पत्ता लगाएका हुन् । आइन्स्टाइनले पत्ता लगाएअनुसार प्रकाशको गति प्रतिसेकेण्ड १,८६००० माइल हुन्छ । यो भनेको अहिलेसम्म मानिसले निर्माण गरेका कुनै पनि वस्तुले पैदा गर्ने गतिभन्दा धेरै बढीको गति हो । आइन्स्टाइनले त के पनि ठोकुवा गरेका छन् भने, यो ब्रम्हाण्डमा प्रकाशभन्दा चाँडो कुनै पनि वस्तु दौडन सक्दैन ।

आइन्स्टाइनले १९०५ मा पिएचडीको शोधपत्र जुरिच विश्वविद्यालयमा बुझाए । उनको शोधपत्रको विषय सापेक्षतावादको सिद्वान्तबारे थियो । त्यसमा नै उनले शक्तिको प्रख्यात सूत्र E=mc2 को व्याख्या गरेका थिए । त्यसै शोधपत्रबाट उनले पीएचडी को उपाधि पनि प्राप्त गरे । उनले आफ्नो शोधपत्र अन्नालेन डेर फिजिक (Annalen Der Physik) पत्रिकामा छपाएपछि संसारभरि तहल्का मच्चियो । संसारका धेरै वैज्ञानिकहरुले उनको त्यो शोधपत्र पढे र प्रशंसा गरे । त्यसको एक वर्षपछि १९०६ मा उनले क्वान्टम यान्त्रिकी (Quantum Mechanics) को विषयमा अर्को शोधपत्र पनि तयार गरेर छपाए । त्यसले पनि वैज्ञानिक जगतमा तहल्का मच्चायो ।

उनको ख्याति दिन दुई गुना रात चौगुना हुन थाल्यो । प्रवचन दिन र सम्मान गर्न उनलाई चारैतिरबाट बोलाइन थालियो । तीस वर्षको उमेर छँदा पेरिसमा प्रवचन दिन उनी गए । त्यहाँ त्यसबेलाका चर्चित वैज्ञानिक म्याडम क्युरी पनि उनको भाषण सुन्न आएका थिए । लजालु आइन्स्टाइन अब विश्वविख्यात भएका थिए । जहाँ गए पनि मानिसको ठूलो भीड उर्लन्थ्यो । पत्रकारहरु उनको फोटो खिच्न र अन्तर्वार्ता लिन भागदौड गर्थे । विश्वका यी महान् मानवलाई एक झल्को हेर्नकै लागि पनि मानिसहरु लालयित भएर कुर्थे ।

आइन्स्टाइनले सन् १९२१ को भौतिकशास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । सरल र उदार हृदय भएका आइन्स्टाइनले आफूले पाएको पुरस्कारको रकम स्वीस रुपियाँ १,२१,५९२ क्रोनोर (त्यसबेलाको करिब ३२ हजार अमेरिकी डलर) आफूलाई छोडेर गइसकेकी जेठी श्रीमतीलाई पठाइदिएका थिए ।

आइन्स्टाइन शान्तिप्रिय थिए । उनी अन्याय, अत्याचार र युद्धका विरोधी थिए । न्यायप्रेमी र यहुदी भएकै कारण सन् १९३३ मा जर्मनीको सत्तामा आएको हिटलरको नाजी सत्ताले पनि उनलाई देखिसहेन र उनको टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्कको घोषणा गरियो । जन्मले यहुदी आइन्स्टाइन सबै धर्मलाई उत्तिकै सम्मान गर्थे । उनी विद्वान् र विनम्र थिए । त्यसैले उनी सबैको कदर गर्थे । राजनीतिक विचारका हिसाबले उनी समाजवादी थिए । उनी गान्धीको विचार र जीवनशैलीबाट विशेष प्रभावित थिए ।

आइन्स्टाइन आफ्ना जीवनभरि वैज्ञानिक खोज अनुसन्धानमा लागिरहे । जीवनको अन्त्यकालतिर पनि उनी एकीकृत क्षेत्र सिद्धान्त (Unified Field theory) को खोज अनुसन्धान गरिरहेका थिए । तर दुर्भाग्यको कुरा, यो खोज पूरा हुन नपाउँदै अप्रिल १८, १९५५ का दिन अमेरिकाको प्रिन्सटनमा उनको दुःखद निधन भयो । यस अघि सन् १९३६ मा नै उनकी श्रीमती एलिसाको पनि मृत्यु भइसकेको थियो ।