हाम्रो मौलिक पर्व टोपी दिवस कि अंग्रेजी नयाँ वर्ष ?

देवी खनाल । प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५

मध्यरातसम्म बसेर तामझामका साथ दारु पार्टी गरिन्छ आजकल । पटाका पड्काइन्छ, आतसबाजी गरिन्छ अनि अरुको निदहराम गरिन्छ । यस्ता घटनाहरु आजकल सामान्य भइसकेका छन् । रातमा पार्टी गर्नु, होहल्ला गर्नु, पटाका पड्काउनु वा आतसबाजी गर्नु आजकल फेसन जस्तै बनेको छ । कुनै खेलको जितमा होस्, पर्व, जन्मदिन, हर्षबढाई सबैमा खुसीयाली साटासाट गर्न यस्ता क्रियाकलाप गर्ने गरिन्छ ।

आज अंग्रेजी महिनाको जनवरी एक अर्थात अंग्रेजी नयाँ वर्ष पनि हो । विशेषतः पश्चिमा मुलुकहरुमा यो एक ठूलो पर्वको रुपमा मनाउने गरिन्छ । पुरानो वर्ष सकिएर नयाँ वर्षमा प्रवेश गर्दाको क्षण एक अविष्मरणीय रहन्छ नै चाहे त्यो पश्चिमा मुलुकमा होस् चाहे त्यो पूर्वी देशहरुमा । चाहे त्यो ठूलो राजघरानामा होस् या गरीबको झुपडीमा । पर्व भनेको पर्व नै हो । खुसीयाली मनाएर हर्सोल्लास मनाउन पाउँनु सबैको नैसर्गिक अधिकार पनि हो ।

प्रसंग बदलौं, आज अंग्रेजी नयाँ वर्षका साथ साथै नेपालीहरुको लागि एक अर्को पहिचानको विषय नयाँ वहसका रुपमा उठेको छ ‘ढाका टोपी दिवस’ । आजकै दिन ढाका टोपी दिवस समेत परेकोले हामी नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई प्राथमिकता दिने या त नेपालको पहिचान झल्काउने ढाका टोपी दिवसलाई प्राथमिकता दिने ? यो एउटा पहिचान मात्र नभएर चुनौतिको रुपमा हामीमाझ खडा भएको छ ।
हामी यहाँ जात, धर्म, लिंग, महिला, मधेशी, क्षेत्र तथा भाषा अनेक हिसावले आफ्नो पहिचान खोज्दै आएका छौं ।

विगतमा आफ्नो पहिचानको लागि विभिन्न जातजाति तथा धर्म, लिंग, उत्पीडित वर्गहरुले आन्दोलन गर्दै आफ्नो पहिचानलाई कायम गरेका छौं । आफ्नो अस्तित्व जोगाउनको लागि हरेक जीवित वस्तुले संघर्ष गर्दछ । यो विज्ञानले पुष्टि गरेको छ, तथ्यहरुले पुष्टि गरेको कुरा हो । वैज्ञानिक युगमा आइपुग्दा विश्वले पृथ्वीमा मात्र होइन अन्यत्र ग्रहहरुमा समेत आफ्नो प्रभाव जमाइरहेको बेला हामी भने अरुको पर्वहरुमा रमाउने जस्तै क्रिशमस, अंग्रेजी नयाँ वर्ष जस्ता हाम्रो संस्कृति र देशको माटो सुहाउने भन्दा बाहिर गएर रमाउने गरेका छौं ।
यसरी आफ्नो अस्तित्वभन्दा पर गएर विलासिता, देखासिकी र फजुल खर्चमा पुग्दा हामी हाम्रो संस्कृति विर्संदै गएका त हैनौं ? हाम्रो पहिचान मास्नको लागि तत्पर भएका त छैनौं ? हामीले हाम्रो अस्तित्व जोगाउन आफैं लागि पर्नु पर्छ । अरु कुनै देशको नागरिकले आएर हाम्रो अस्तित्व रक्षाको लागि बोल्दैन हामी आफैं लाग्नु पर्छ ।

नालापानी, कालापानीमा हाम्रा वीर पूर्खाहरुले अंग्रेजसाग युद्ध लडेर आधुनिक हतियारको सामु सामान्य भाला खुकुरीले अंग्रेजलाई परास्त गरे । त्यो इतिहास जोगाउनु हामीलाई चुनौति बनेको छ । पराइ देशसँग युद्ध लड्नु त एउटा परको कुरा रह्यो हामी हाम्रा संस्कृति र यहाँको मौलिकताबाट समेत भाग्दै छौं ।

हो हामी सधैं एउटा कुरामा अल्मलिनु हुँदैन । पुराना कुराहरुलाई परिवर्तन गर्दै लैजानुपर्छ । आधुनिकता तर्फ ढल्कनै पर्छ । यो भन्दैमा हामीले धर्म परिवर्तन गर्ने, फेसनमा आधुनिकताको नाममा निर्वस्त्र हुने, अरुले जे लगाउँछ त्यस्तै सिक्दै जाने होइन । परिवर्तन भनेको त्यही चिजलाई आधुनिक तरिकाले परिमार्जन गर्ने मात्र हो । त्यसको औचित्य नमर्ने किसिमले परिवर्तन गर्ने हो । हाम्रा साना साना पर्वहरुमा हामी रमाइरहेका हुन्छौं । सानो पर्वले एउटा पुरै जातिको मौलिकता झल्काइरहेको हुन्छ । त्यसको अस्तित्व मेट्ने हो भने कालन्तरमा एक पछि अर्को सबैको वस्तु, चिज, जाति, धर्म नामेट हुने सम्भावना र एउटा कुनै हाम्रो मौलिकता बाहिरको चिजको अस्तित्व हावी हुने सम्भावना बढ्दै छ ।

त्यसैले हामी नेपालीहरुको नयाँ वर्ष बैशाख एक गते पर्दछ हामी सबैलाई थाहा भएकै कुरा हो । विदेशी दुतावास देखि लिएर विदेशमा काम गर्ने थुप्रै नेपालीहरु भएको कारण अंग्रेजी महिनाको पनि हामीलाई जरुरत पर्दछ । त्यसको हामीले उपयोग हाम्रो आफ्नो अनुकुलतामा गर्ने हो । तर पर्वको रुपमा नै तामझाम गर्नुको कुनै तुक छैन । बैशाख एक गतेलाई हाम्रो नयाँ वर्ष मान्दै जनवरी एक अंग्रेजी नयाँ वर्षकै दिन पर्ने नेपाली मौलिक पर्व ‘ढाका टोपी दिवस’लाई एउटा पहिचानको दिवसको रुपमा मनाउन सरकारले वातावरण सिर्जन गर्नुपर्छ । साथै हामी सम्पूर्ण नेपाली नागरिकहरुले यसको लागि पहलकदमी समेत गर्नुपर्ने अवस्था आएको छ ।

हाम्रो मौलिकता के हो ? हाम्रो यहाँको माटो सुहाउँदो पर्व र परिपाटीलाई अंगिकार गर्नु हाम्रो मानवीय धर्म हो । त्यसैले आजको दिनलाई विशेषतः अंग्रेजी नयाँ वर्ष नमान्ने भन्दा पनि महत्व यसलाई कम र ढाका टोपी दिवसलाई बढी दिन जरुरी देखिन्छ । ढाका टोपी दिवसको सबैमा हार्दिक शुभकामना साथै अंग्रेजी नयाँ वर्षको पनि शुभकामना !