जब अस्ट्रेलियामा पारस र सन्दिप एकै साथ स्टेजमा देखिए

प्रकाशित मिति : सोमवार, पुस १६, २०७५

काठमाडौं/ संसारकै सबैभन्दा ठूलो क्रिकेट ग्राउण्ड अर्थात मेलबर्न क्रिकेट ग्राउण्ड । जहाँ नेपाली बलर सन्दिप लामिछानेले भोलि नयाँ वर्षको पहिलो दिन डेब्यू गर्दैछन् । मेलबर्नमा मेलबर्न रेनेगेड्सविरुद्धको आफ्नो भोलिको खेलको ठिक अघिल्लो दिन ‘न्यू इयर इभ’मा मेलबर्न स्टार्सले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । बिग बाश लिग स्टार ड्यानी वेट, एरिन अस्बर्न, केन रिचार्डसन र एडम जाम्पापछि सन्दिप स्टेजमा उक्लिए । आत्मविश्वासले भरिएका सन्दिप माइक्रोफोनमा पुग्दा उनको छेउमा अर्का एक व्यक्ति थिए जो अस्ट्रेलियनको लागि ‘अपरिचित’जस्तै थिए ।

‘म मेलबर्न स्टार्स परिवारमा गर्वसाथ पारस खड्कालाई स्वागत गर्न चाहन्छु’ सन्दिपले आत्मविश्वासपूर्वक भने ‘पारस खड्का, मेरो राष्ट्रिय टिम नेपालका कप्तान ।’ संसारकै अत्याधिक छिटो क्रिकेटको विकास भइरहेको देश नेपाल, जसले हालै इतिहासमै पहिलो पटक एकदिवसीय क्रिकेटको मान्यता पाएको छ, त्यो देशका कप्तान पारस खड्काको पूर्वयोजना बिनाको उपस्थितिले मेलबर्न स्टार्सका अधिकारीहरुको पनि चासो बढ्यो ।

पारसको यो उपस्थितिले मेलबर्न क्रिकेट ग्राउण्डमा नेपाली फ्यानहरुको ठूलो उपस्थिति रहने संकेत गरेको छ जहाँ संसारकै ठूलो क्रिकेट ग्राउण्डमा नेपाली स्टार सन्दिपले डेब्यू गर्दैछन् र उनको हौसला बढाउनको लागि उनका कप्तान पारस खड्का स्वयं ग्राउण्डमा हुनेछन् । सन्दिपले बिग बाशलाई एउटा ठूलो क्रिकेट फ्यानको जमातका लागि आकर्षणको केन्द्र बनाइदिएका छन् । अहिले ६० हजारभन्दा बढी नेपालीहरु अस्ट्रेलियामा बस्दै आएका छन् ।

पत्रकार सम्मेलननस्थलमा थुप्रै नेपाली फ्यानहरु नेपालको झण्डासहित पुगेका थिए । र, यी झण्डाहरु अहिलेसम्म सन्दिपले खेलेका अस्ट्रेलियाका हरेक ग्राउण्डमा यसैगरी लहराएका थिए । यी झण्डाहरु मेलबर्न स्टार्सको ओपनिङ खेलमा मानुका ओभलमा यसैगरी लहराए, होबार्टको ब्लण्डस्टोन एरेनामा पनि फहराए । गत हप्ता सिड्नी क्रिकेट ग्राउण्डमा त यी झण्डासँगै ठूलो उत्साह पनि देखियो जहाँ नेपालीका अगाडि उनीहरुका स्टार सन्दिपले सिड्नी सिक्सरविरुद्धको जीतमा महत्वपूर्ण भूमिका निभाए ।

मेलबर्न स्टार्सका अधिकारीहरुले योभन्दा ठूलो नेपाली दर्शकको जमातको अपेक्षा गरेका छन्, जब सन्दिप भोलि मेलबर्न क्रिकेट ग्राउण्डमा मेनबर्न रेनेगेड्सविरुद्ध उत्रनेछन् । ‘मैले ठूलो संस्यामा नेपाली फ्यानको समर्थन पाएको छु’ सन्दिपले भने ‘भोलि हाम्रो टिमलाई समर्थन गर्न आउने ठूलो नेपाली जमातको अगाडि खेल्नु उत्साहजनक हुनेछ ।’