नगरपालिका कार्यालयमा ठेकेदारको गुण्डागर्दी, कुटिए लेखापाल

प्रकाशित मिति : सोमवार, पुस १६, २०७५

लमजुङ/ शुन्दरबजार नगरपालिकाका लेखापाल कुटिएका छन् । कार्यालयभित्रै पसेका दुई ठेकेदारले वालिङ नगरपालिका ११ स्याङ्जा घर भई शुन्दरबजार नगरपालिकामा कार्यरत लेखापाल श्याम बहादुर पराजुलीमाथि कुटपिट गरेका हुन् । आज नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डर बिक्री गर्ने दिन तोकिएको थियो ।

टेण्डर बिक्री गर्न आएका शुन्दरबजार मिलनचोकका रेष्टुरेण्ट सञ्चालक नबिन कुमार श्रेष्ठ लगायत दुई जनाले लेखाशाखा भित्रै गएर कुटपिट गरेका हुन् । कुटपिटबाट लेखापाल पराजुलीको मुखमा गहिरो चोट लागेको छ ।

उनलाई छुटाउन गएका नायब सुब्बा होमनाथ पौडेलमाथि पनि हातपात गरेको लेखापाल पराजुलीको भनाई छ । पौडेलमाथि उनीहरुले दुई चार थप्पड हानेका थिए ।

कार्यालयमा आएका उनीहरुले बाहिर आउन भनेको तर आफु नगएपछि उनीहरुले भित्रै आएर कुटपिट गरेको पराजुलीको भनाई छ । उनको सामुदायिक अस्पताल लमजुङमा उपचार भईरहेको छ ।

पहिला पनि धम्की दिएको भन्दै पराजुलीले भने, ‘आज अफिसमा आएर मलाई बाहिर बोलाउँदैं थिए । मैले के काम हो यतै भन्नु भन्दा भित्रै आएर कुटे ।’

कुटपिट गरेर फरार भएका उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनास्लथमै रहेका इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक रमेश श्रेष्ठले घटनास्थलको मुजुल्का उठाउने काम भईरहेको बताए ।

के कति कारणले कुटपिट गरिएको भन्ने बारे अनुसन्धान भईरहेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘उनीहरुबीच पहिलाको रिसिईबी थियो कि रु के हो बुझ्ने काम भईरहेको छ । अहिले अभियुक्तहरु फरार छन् ।’ कुटपिटपछि नगरपालिकाका कर्मचारीहरुको सुरक्षाको माग गरेका छन् ।